न्यू डायमण्ड एनभीए भलिबल लिगको फाइनलमा

तस्बिर : नेपाल भलिबल संघ 

जेष्ठ १३, २०८२ | पोखरा

टिपटप न्यू डायमण्ड युथ स्पोर्टस क्लब पोखरामा जारी एनभीए भलिबल लिगको महिलातर्फ फाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा भएको खेलमा विभागीय टोली एपीएफलाई ३–० को सोझो सेटमा पराजित गर्दै न्यू डायमण्ड फाइनलमा पुगेको हो ।

यो नतिजापछि साविक विजेता नेपाल पुलिस क्लबको पनि फाइनलमा स्थान पक्का भएको छ । अपराजित न्यू डायमण्डले २५–१८, २५–२२ र २५–१६ ले खेल जितेको हो । 

लगातारको चौंथो जितपछि न्यू डायमण्ड १२ अंकसहित शीर्ष स्थानमा छ । दोस्रो स्थानको पुलिसको ११ अंक छ । अब न्यू डायमण्डले उपाधिका लागि नेपाल पुलिस क्लबको सामना गर्नेछ । विभागीय नेपाल पुलिस क्लब र न्यू डायमण्डले शीर्ष दुईमा रहेर फाइनलमा स्थान पक्का गरेको हो ।

यस्तै, विभागीय टोली त्रिभुवन आर्मी क्लबले सान्त्वना जित हात पारेको छ । पोखरा रंगशालामा बिहान भएको खेलमा आर्मीले कर्णालीलाई ३–० को सोझो सेटमा हराएको हो । 

लिग चरणबाट बाहिरिसकेका दुई टोलीबीचको प्रतिस्पर्धामा आर्मीले कर्णालीलाई पराजित गरेको हो । आर्मी २५–१३, २५–६ र २५–१५ ले खेल आफ्नो पक्षमा पारेको हो । 

आर्मीले ४ अंकसहित पाँचौं स्थानमा रहँदै लिगको यात्रा टुंग्याएको छ । जितविहीन कर्णाली पनि प्रतियोगिताबाट बाहिरिसकेको छ । आर्मीले तेस्रो स्थानका लागि अब एभरेस्ट भलिबल क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।

यस्तै, पुरुषतर्फ आज चार खेल हुनेछन् । नेपाल भलिबल संघको आयोजनामा जेठ १५ गतेसम्म चल्ने प्रतियोगितामा महिलातर्फ ६ र पुरुषतर्फ ८ टोलीको सहभागिता रहेको छ । प्रतियोगितामा विजेता पुरुष तथा महिला दुवै टिमले ८ लाख र उपविजेताले ४ लाख रुपैयाँ प्राप्त गर्नेछन् । 

तेस्रो हुने टिमलाई २ लाख रुपैयाँ र सर्वोत्कृष्ट खेलाडीलाई ५० हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ । लिगका विजेता २ टोलीले नेपालको प्रतिनिधित्व गर्दै काभा क्लब च्याम्पियन्स लिगमा प्रतिस्पर्धा गर्नेछन् ।


प्रतिक्रिया