पाकिस्तानसँग सीमा जोडिएका ४ राज्यमा भारतले पूर्वाभ्यास गर्ने

जेष्ठ १४, २०८२
भारतले पाकिस्तानसँग सीमा जोडिएका ४ राज्यमा पूर्वाभ्यास अर्थात् मक ड्रिल गर्ने तयारी गरेको छ । भारतले भोलि पञ्जाव, गुजरात, राजस्थान र जम्मु तथा कश्मिरको सीमासँग जोडिएका जिल्लामा पूर्वाभ्यास गर्न लागेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । भारतले पाकिस्तानमा अपरेशन सिन्दूर सुरु गरेको केही हप्तापछि यो अभ्यास सुरु गर्न लागेको हो ।
सो पूर्वाभ्यासको घोषणा गर्नुको मुख्य उद्धेश्य हवाई आक्रमण चेतावनी साइरन सक्रिय गर्नु, विद्यार्थीसहित नागरिकहरूलाई आत्म–सुरक्षाको लागि प्रशिक्षण दिनुलगायत रहेको बताइएको छ । यसअघि पनि भारतले सीमावर्ती राज्य र केन्द्र शासित प्रदेशका २ सय ४४ जिल्लामा मे ७ मा मक ड्रिल गरेको थियो । गत अप्रिल २२ मा जम्मू–कश्मीरमा भएको पहलगाम आतंकवादी आक्रमणमा २६ जना नागरिक मारिएपछि भारतले सुरक्षा सतर्कता बढाएको छ ।