नेपाली राष्ट्रिय महिला फुटबल टोली थाइल्यान्ड प्रस्थान

जेष्ठ १४, २०८२
एसियन कप छनोटको तयारीमा जुटेको नेपाली राष्ट्रिय महिला फुटबल टोली मैत्रीपूर्ण खेलका लागि आज थाइल्यान्ड प्रस्थान गरेको छ । थाइल्याण्डसँगको मैत्रीपूर्ण खेलका लागि महिला टोली बैंकक गएको हो । एएफसी महिला एसिया कप छनोटको तयारीका लागि नेपालले थाइल्यान्डसँग खेल्न लागेको हो । नेपालले यही जेठ १६ र १९ गते बैंककमा दुई खेल खेल्ने तालिका छ । पहिलो खेल अभ्यासको रुपमा रहनेछ भने दोस्रो खेलले फिफा मैत्रीपूर्णको मान्यता पाएको छ ।
प्रतियोगितका लागि कप्तान तथा गोलकिपर एञ्जिला तुम्बापो सुब्बाको कप्तानीमा टोलीको घोषणा गरिएको छ । सावित्रा भण्डारी युरोपबाट र रेखा पौडेल यूएईबाट सिधै थाइल्याण्डमा टिममा समावेश हुने एन्फाले जनाएको छ । एएफसी महिला एसिया कपको समूह एफ मा रहेको नेपालका लागि यो नै अन्तिम अभ्यास खेल हो । यस समूहमा नेपालसँगै लाओस, श्रीलंका र उज्वेकिस्तान रहेका छन् । समूह विजेताले आगामी वर्ष अस्ट्रेलियामा आयोजना हुने एएफसी महिला एसिया कपमा स्थान बनाउनेछ ।