विपक्षी दललाई वेवास्ता गरेर संसद चलाउँदा सभामुख घिमिरे विवादमा

असार २, २०८२ | काठमाडौं
विपक्षी दलले नारावाजी र बहिष्कार गरेपनि प्रतिनिधिसभाको बैठक सञ्चालन गरिएको भन्दै सभामुख देवराज घिमिरेको चर्को आलोचना भएको छ । अघिल्लो दिन जस्तै रास्वपाका सांसदले भिजिट भिसा प्रकरणको विषय उठाएर वेल अगाडी प्रदर्शन गरेका छन् भने राप्रपाले बैठक बहिष्कार गरेको छ । तैपनि सभामुख घिमिरेले बैठक चलाएपछि विपक्षी दलले त्यसप्रति आपत्ति जनाएका हुन् । बैठकमा बोल्दै रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले बल प्रयोग गरेर संसद चलाइएको भन्दै असन्तुष्टी जनाउनुभयो ।
दुई वटा विपक्षी दलको विरोध कायम रहेपनि प्रतिनिधिसभामा आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलले निरन्तरता पाएको हो । राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले महत्वपूर्ण दुई दलको फरक मतलाई वेवास्ता गरेर संसद सञ्चालन गर्दा सभामुखको भूमिकामाथि समेत प्रश्न उठेको टिप्पणी गर्नुभयो ।
राप्रपाले लगातार दोस्रो दिन प्रतिनिधिसभा बैठक बहिष्कार गरेको हो । राप्रपाले बैठक बहिष्कार गरेको दिनको भत्ता नलिने घोषणा समेत गरेको छ । यसैबीच, प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रले सरकारको प्रतिवद्धता अनुसार भिजिट भिसा प्रकरणमा तत्काल छानविन समिति बनाउन माग गरेको छ । सो पार्टीका सांसद शक्तिबहादुर बस्नेतले संसदमा गृहमन्त्री रमेश लेखकले गरेको प्रतिवद्धता अनुसार छानविन समिति बनाउनुपर्ने बताउनुभयो ।
यता, सत्तारुढ दलले भने विपक्षीको भूमिकामाथि प्रश्न उठाएको छ । एमाले सांसद सुर्य थापाले बैठक सञ्चालनलाई मर्यादित बनाउनुपर्ने बताउनुभयो ।
रास्वपाका सांसदहरु वेल अगाडी पलेटी कसेर बसेको विषयमा एमाले सांसद थापाले सो टिप्पणी गर्नुभएको हो ।