बहुदरमाई नगरपालिकाका मेयर सहित पर्सामा ५५ जनामा संक्रमण

श्रावण २४, २०७७ | वीरगन्ज

वीरगन्जको नारायणी अस्पतालको प्रयोशालामा गरिएको परीक्षणमा पर्साको बहुदरमाई नगरपालिकाका मेयर नितेन्द्र साह सहित थप ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एकजना संक्रमित सर्लाही र ३ जना बाराका हुन् ।

५५ जना संक्रमित मध्ये १० जनामा ज्वरो र खोकीको लक्षण देखिएको छ । नीजि खर्चमा परीक्षण गराएका १३ जनामा कोरोना संक्रमण देखिएको छ । नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.मदन कुमार उपाध्यायका अनुसार ८ जना महिला सहित थप ५५ जनामा कोरोना पोजेटिभ देखिएको छ । 

बहुदरमाई नगरपालिकाका मेयर नितेन्द्र साहले गत साउन २१ मा नेपाल राष्ट्रिय माध्यमिक विद्यालय वैरियाविर्तामा स्वाब परीक्षणका लागि दिएका थिए । सो विद्यालयमा स्वाब दिएका मेयर सहित २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको प्रयोगशालाका एक कर्मचारीमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । 

आर्मी ब्यारेकका एक जवानमा समेत संक्रमण पुष्टि भएको छ । पर्साको छिपहरमाई गाउँपालिका– ५ भिस्वाका दुईजनामा पनि कोरोना पुष्टि भएको छ । अन्य संक्रमित हुनेहरुमा वीरगन्ज आदर्शनगरका ६ जना, श्रीपुरका ४ जना, मुर्लीका २ जना, नगवाका ४ जना, रेशमकोठीका एक र विर्ताका एक जना रहेका छन् । 


प्रतिक्रिया