संक्रमितको उपचारमा खटिएका चिकित्सकलाई नै कोरोना पोजेटिभ

श्रावण ५, २०७७ | स्याङ्जा

स्याङ्जाको गल्याङ नगर अस्पतालको आइसोलेशन सेन्टरका कोरोना संक्रमितको उपचारमा खटिएका एक चिकित्सकलाई पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । 

पोखरास्थित क्षयरोग परीक्षण केन्द्रमा गरिएको पीसीआर परीक्षणमा उनलाई कोरोना पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय स्याङ्जाका प्रमुख यामप्रसाद शर्माले जानकारी दिनुभयो । 

शर्माका अनुसार संक्रमित चिकित्सकलाई उपचारको लागि सोही आइसोलेशन सेन्टरमा राखिएको छ । गल्याङ अस्पतालमा ६० वेडको आइसोलेशन सेन्टर निर्माण गरिएको छ । उनी शनिबार बेलुकासम्म बिरामीको उपचारमा खटिएको अस्पताल स्रोतले बताएको छ ।

आइसोलेशन सेन्टरमा रहेका संक्रमितको हेरचाह गर्ने उनी मुख्य डाक्टर रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । उनको नेतृत्वमा नै जिल्लाको आइसोलेशनमा रहेका संक्रमितलाई उपचार र हेरचाह गरिएको शर्माले बताउनुभयो । 

उनी स्थानीय निजी क्लिनिकमा पनि आइतबारसम्म उपचारमा खटिएका थिए । स्याङ्जाका कोरोना संक्रमित १३ जना अहिले पनि जिल्लाका विभिन्न आइसोलेशन सेन्टरमा छन् । 

गल्याङ नगर अस्पतालमा भने अहिले २ जना मात्र संक्रमित उपचाररत रहेको शर्माले बताउनुभयो । ती चिकित्सकमा कोरोना पुष्टि भएसँगै अस्पतालका सेवा बन्द गरिएको छ । अर्को सूचना जारी नभएसम्मका लागि सेवा बन्द गरिएको अस्पताल प्रशासनले जनाएको छ । 


प्रतिक्रिया