बन्ला त पारसको इन्ट्री क्यान र नेपाली क्रिकेटको टर्निङ प्वोइन्ट !

आश्विन ७, २०८० | काठमाडौं

नेपाल क्रिकेट संघ क्यानको नेतृत्वमा ह्याट्रिक गरेका चतुरबहादुर चन्दले उम्मेदवारी दिने बेलामा नै भनेका थिए– अघिल्लो कार्यकाल गर्न बाँकी कामहरु टुङ्गयाउन पनि म अध्यक्ष बन्नपर्छ । नभन्दै उनलाई निर्विरोध अध्यक्ष चयन गर्दै क्यानले शनिबार चार वर्षका लागि केन्द्रिय समिति चयन ग¥यो । क्यानको नयाँ कार्यसमितिमा पूर्वकप्तान पारस खड्कासहित युवाको प्रवेशले नेपाली क्रिकेट चलायमान हुने अपेक्षा धेरैले गरेका छन् । के त्यति सहज छ त नेपाली क्रिकेटलाई लयमा ल्याउन र नयाँ गति दिन ?

शनिबार सम्पन्न नेपाल क्रिकेट संघ क्यानको केन्द्रिय साधारणसभाबाट नेपाली राष्ट्रिय क्रिकेट टिमका पूूर्व कप्तान पारस खड्का सचिवमा अवतरित भए । क्रिकेट जानकारहरु क्यानमा पारसको आगमनले नेपाली क्रिकेटको अर्को अध्यायका रुपमा पनि अथ्र्याएका छन् । एक दशक नेपाली टोलीको नेतृत्व र झण्डै २ दशक नेपाली क्रिकेटको श्रीवृद्धिमा खटेका पारसलाई अब क्रिकेट रुपान्तरण गर्ने चुनौती छ । कप्तानबाट संन्यास लिएको २ वर्षपछि उनी क्रिकेट संघको नेतृत्वमा पुगेका छन् । पहिले राष्ट्रिय टोलीमा हुँदा पाएको वाहवाहीलाई अब जिल्ला र प्रदेश क्रिकेटमार्फत् चलायमान बनाउने योजना उनले सुनाए ।

आफू खेलाडीका रुपमा मैदान उत्रदा घरेलु क्रिकेटको संरचनाबारे प्रश्न उठाउने गरेका खड्काले आगामी दिनमा सोही प्रश्नको सामना गर्नुपर्नेछ । चतुरबहादुर चन्द क्यानको नेतृत्वमा पुगेपछि असन्तुष्ट रहेका पारसले कप्तान पद नै छाडेका थिए । तर, अहिले उनै चन्दको प्यानलमा सचिव भएर चुनावमा होमिनुको जवाफ पनि धेरैले पारससँग खोज्नेछन् । उनीसँगै केही युवा र व्यावसायिक सोच भएकाहरुको प्रवेशले मात्रै क्यान तङ्ग्रिने सम्भावना छैन । किनभने क्यानको तेस्रो कार्यकाल सम्हाल्न चतुरबहादुर चन्द अध्यक्षमा निर्विरोध निर्वाचित भए, जो पछिल्लो कार्यकाल निकै आलोचित बन्न पुगे । तर, अघिल्लो कार्यकालमा विविध समस्याका कारण अधुरै रहेका काम तेस्रो नेतृत्वमा पूरा गर्ने चन्द दाबी गर्छन् ।

नेपाली क्रिकेटको सौभाग्य के हो भने आन्तरिक व्यवस्थापन कमजोर भएपनि राष्ट्रिय टिमको गौरवशाली प्रदर्शनले ती सबै कमजोरी छोपिदिन्छ । विश्व लिग २ मा प्रभावशाली प्रदर्शनका साथै आगामी चार वर्षका लागि एकदिवसीय मान्यता जोगाएर यसपटक पनि चन्दको कार्यकाललाई बिर्सनलायक हुनबाट जोगाइदियो । त्यस्तै विश्वकप क्वालिफायरमा प्रभावशाली प्रदर्शन गर्नुका साथै नेपालले एसिया कप क्रिकेटको डेब्यू सहभागीतामा पाकिस्तान र इण्डिया जस्ता विश्व चर्चित टीमसँग आफ्नो क्रिकेट कौशल तिखार्ने मौका पायो । क्यानको नयाँ नेतृत्व सामू अब घरेलु क्रिकेट सम्हाल्ने, जिल्लादेखि अन्तर्राष्ट्रिय प्रतियोगितासम्मको खाका कोर्ने, बजेट व्यवस्थापन गर्ने र आन्तरिक सम्बन्ध सुधार्ने जस्ता चुनौती सामना गर्नुपर्नेछ ।

क्रिकेटको भौतिक पूर्वाधार विकासमा क्यानको खासै भूमिका हुँदैन । यसमा राखेप र सरकारले कदम चाल्नुपर्छ । पछिल्लो समय हासिल गरेको उत्कृष्ट नतिजाका कारण राष्ट्रिय क्रिकेट टीमले राखेप र सरकारको पनि ध्यान केन्द्रित गरेको छ । खेलाडीले जसरी खेलमा आफूलाई समर्पित गरे, त्यसरी नै जिम्मेवार निकाय लागि पर्नुपर्ने बेला छ । क्यान नेतृत्वमा आएका नयाँ पदाधिकारीको काँधमा घरेलु गतिविधि र संरचना निर्माण, विभिन्न फर्म्याटका राष्ट्रिय प्रतियोगिताको आयोजना, सातै प्रदेशमा क्रिकेट विकास, उमेर समूह र महिला क्रिकेट व्यवस्थापन, प्रशासनिक सुशासन लगायतका काम गर्नु पर्ने चुनौती छ । यी चुनौती सामना गर्न क्यान एक ढिक्का हुन जरुरी छ । निर्वाचनमा देखिएको गुटगत राजनीतिलाई पाखा लगाएर क्रिकेटको विकासमा समर्पित हुने अवसर नवनिर्वाचित कार्यसमितिलाई छ । यो अवसर क्यानले कति छोप्न सक्छ, त्यसैमा नेपाली क्रिकेटको आगामी दिशा र दशा निर्भर गर्छ । 


प्रतिक्रिया