रेडियोः साथी निरन्तर
आश्विन २८, २०८० | काठमाडौं
सूचना र प्रविधिको विकाससँगै सुन्ने स्रोताको संख्यामा घटबढ हुने गरेपनि रेडियोको महत्व अझै घटेको छैन । नेपालमा रेडियो स्थापना भएको सात दशक नाघिसकेको छ । सुरु सुरुमा सूचना र प्रविधिको विकास राम्ररी नभएका कारण त्यतिबेला रेडियोको महत्व छुट्टै थियो । अहिले प्रविधिको विकास तिब्र रुपमा भए पनि सहज पहुँचका हिसाबले अझै सर्वसाधारणको भरपर्दो सूचनाको साधन रेडियो नै बन्ने गरेको छ ।
तथ्याङ्कले विश्वभरि नै रेडियो सेटबाट रेडियो सुन्ने श्रोता घट्दै गएको देखाए पनि नेपालका ग्रामीण बस्तीमा अझै रेडियो नै प्रमुख सञ्चार माध्यमको रूपमा छ । छिटो र सबैभन्दा धेरै मानिसको पहुँचमा पुग्ने भएकाले रेडियोलाई सरल र भरपर्दो प्रशारण माध्यमका रुपमा लिइन्छ । तर प्रविधिको द्रुत विकासले श्रोतामाझ फरक सोच र शैलीमा प्रस्तुत हुनुपर्ने चुनौती आजका रेडियोलाई रहेको रेडियो कान्तिपुरका पूर्वस्टेसन म्यानेजर सरदराज गौतम बताउँछन् ।
नेपालमा २००७ साल चैत २० मा रेडियो नेपालको स्थापना भयो । २०४६ को राजनीतिक परिवर्तनपछि नेपालमा थुप्रै पत्रपत्रिकाहरु प्रकाशित भए । तर, निजि तथा सामुदायिक क्षेत्रबाट एफएम रेडियो खुल्न नेपालमा समय लाग्यो । २०५२ सालपछि मात्रै नेपालमा एफ.एम फ्रिक्वेन्सी प्रसारणमा आयो । एफ.एम रेडियोहरुको स्थापनापछि सूचना, मनोरञ्जन र शिक्षामा स्थानीय स्तरको स्वाद बोकेर स्थानीय भाषा र लवजमै पाउन थालेपछि यो सर्वाधिक लोकप्रिय माध्यम बन्न पुग्यो । पछिल्लो समय रेडियो सेट नभए पनि मोबाइलमै सुन्न सकिने, काम गर्दा वा हिँडडुल गर्दा समेत सुन्न सकिने, आफ्नो वरपरका खबरहरू जस्ताको तस्तै तत्काल प्रसारण गर्ने भएकाले पनि एफएम रेडियो नेपाली समाजमा आमसञ्चारको लोकप्रिय माध्यम बन्न पुग्यो । मानिसहरुको व्यस्त जिवनशैलीका कारण पछिल्लो समय रेडियो सुन्ने श्रोताको संख्या बढ्दै गएको रेडियो नेपालकी पूर्वसमाचार वाचिका कोमल वली बताउँछिन् ।
प्रविधिको विकाससँगै रेडियोको आकर्षण केही घटेपनि पहुँचमा भने अझै रेडियो पहिलो नम्बरमै छ । पछिल्लो समय सूचना प्रविधिमा आएको विकाससंगै श्रोताले अन्य विकल्प रोजेपनि तथ्यपरक सूचना र पुुर्नपुष्टिका लागि रेडियो नै उत्तम माध्यम बन्ने गरेको छ । विपत्का समय र राजनीतिमा उथलपुथल भएका बेला रेडियो विश्वसनीय माध्यम बन्ने मात्रै गरेको छैन, श्रोताका असली साथीको रुपमा प्रस्तुत हुने गरेका छन् ।
नेपालमा हाल ७ सय ४० संख्यामा लाइसेन्स प्राप्त रेडियो संचालनमा छन् । संख्या बढी हुनु तर एफएम रेडियोले गुणस्तरीय कार्यक्रम उत्पादन गर्न नसक्दा रेडियो सुन्ने स्रोताको संख्यामा भने केही कमी पक्कै छ । नेपालमा रेडियोका श्रोताहरूको संख्या छैन । घटना विशेष वा विषम परिस्थिति जस्तै प्राकृतिक विपद्, महामारी, निर्वाचन लगायतका समयमा रेडियो सुन्ने श्रोताको संख्या बढ्छ । अर्थात् विषम परिस्थिति वा आपतकालीन अवस्थामा सूचना, सञ्चार तथा समाचारका लागि मानिसहरूले रेडियोमै भर पर्छन् । शेयरकाष्ट इनिशियटिभ्स नेपालले अघिल्लो वर्ष सार्वजनिक गरेको तथ्यांक अनुशार ४५ प्रतिशत नेपालीले रेडियो सुन्ने गर्छन् । नागरिकले कस्ता सुचना चाहन्छन्, नागरिकको मनोविज्ञान, आकांक्षालाई बुुझेर सुचना प्रवाह गर्ने हो भने रेडियोको लोकप्रियता दिर्घकानील सम्म रहिरहने नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेल बताउँछन् ।
रेडियोका श्रोता घटेका होइनन्, प्रविधिको विकास पश्चात बाँडिएका हुन् । छनोटमा नयाँपन प्राप्त हुँदा रेडियोका श्रोता घटेका पो हुन् कि भन्ने लाग्नु स्वाभावि हो । अझै पनि रेडियोलाई धेरै भन्दा धेरै अन्तरक्रिया गर्ने साझा माध्यमका रूपमा विकास गर्न सक्दा, रेडियोका विषयवस्तुमा सूचना, सन्देश, विचार, कथा गाथा विनिमय गर्ने श्रोताको सहभागिता बढाउन सक्दा र स्थानीय विकास तथा जनचासोका विषयहरूलाई नतिजामा नपुगुञ्जेलसम्म निरन्तर घच्घचाई रहेको खण्डमा रेडियोका श्रोता रेडियो मै रहन्छन् । किनकि रेडियोको मौलिक विशेषता अन्य माध्यम चहारेर पाईंदैन । आममानिसका सरोकार, समस्या, चासो र रुचीका विषयवस्तु पस्कन सके अझैपनि रेडियो आमसञ्चारको सान्दर्भिक र लोकप्रिय सञ्चार माध्यम बनिरहन्छ ।