विश्व क्रिकेट जगतमा आफूलाई स्थापित गर्नुपर्ने नेपाली क्रिकेटलाई चुनौती

मंसिर १७, २०८० | काठमाडौं

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले हरेक दुई÷दुई वर्षमा आयोजना गर्ने टी–२० विश्वकप क्रिकेटको नवौँ संस्करण आगामी जेठमा हुँदैछ । वेष्टइण्डिज र संयुक्त राज्य अमेरिकामा आयोजना हुने प्रतियोगिता आगामी जेठ २२ देखि असार १७ गतेसम्म संचालन हुनेछ । सन् २०१४ मा विश्वकप खेले पश्चात छनोट चरण पार गर्न नसकेको नेपालले १० वर्षपछि विश्वकपको ढोका खोल्दै आफूलाई अब्बल साबित गरिसकेको छ । अब विश्वकपमा नेपालले आफूभन्दा बलिया टिमसँग खेल्दै विश्व क्रिकेट जगतमा आफूलाई स्थापित गर्नुपर्ने छ ।

आगामी जेठमा हुने आईसीसी टी–२० विश्वकप पहिलेभन्दा केही फरक हुने पक्का छ । विश्वकपमा सहभागी हुने टोलीको संख्या बढाएर आईसीसीले २० पु¥याएको छ । सन् २०२४, २०२६, २०२८ र २०३० को विश्वकपमा २० देश सहभागी गराउने निर्णय आइसीसीले सन् २०२१ मै गरेको थियो । यो निर्णयसँगै नेपालले एसिया छनोट क्षेत्रबाट विश्वकपको यात्रा तय गरेको हो । यसअघि ग्लोबल क्वालिफायरमा प्रतिस्पर्धा गरेर मात्रै विश्वकपको ढोका उघ्रिन्थ्यो ।

सन् २००७ मा दक्षिण अफ्रिकामा आयोजित पहिलो संस्करणको विश्वकपमा १२ टिम सहभागी थिए । त्यसपछि आईसीसीले सन् २०१४ मा बंगलादेशमा आयोजित पाँचौं संस्करणदेखि सहभागी टिमको संख्या बढाएर १६ पु¥यायो । क्रिकेट विश्वकपको दायरा खुम्च्याइएको भन्दै आलोचना हुन थालेपछि आइसीसीले २० ओभरको विश्वकप खेल्ने टोलीको संख्या थप्दै हाल २० पु¥याएको छ । सोही अनुरूप एसिया क्षेत्रबाट २ एसोसियट राष्ट्रलाई कोटा दिइएको थियो । छनोटको फाइनलमा पुग्ने दुई टोलीले विश्वकप खेल्ने प्रावधान अनुरुप नेपाल र ओमानले विश्वकपमा स्थान पक्का गरेका हुन् ।

आगामी विश्वकपमा नेपालले विश्व क्रिकेटमा बलिया मानिने केही देशहरुसँग खेल्ने निश्चित छ । आईसीसीले विश्वकपको खेलतालिका सार्वजनिक गर्न बाँकी छ । अघिल्ला संस्करणमा वरियता प्राप्त ठूला टिम र वरियतामा तल परेका टिमबीच पहिलो समूह चरणका खेल हुने गर्थे । तर अहिले सहभागी टिमलाई चार समुहमा विभाजन गरिनेछ । समूहका प्रत्येक टिमले चार खेल खेल्न पाउनेछन् । यसको अर्थ नेपालको समूहमा भारत, पाकिस्तान, इङल्याण्ड वा अस्ट्रेलिया मध्ये बलिया एक टिम पक्कै पर्ने छन् । लिग चरणमा प्रत्येक चार समूहका शीर्ष दुई टिम सुपर ८ मा छनोट हुँदा, बाँकी तीन टिम बाहिरिनेछन् । सुपर ८ मा पर्ने टिमलाई दुई समूहमा विभाजन गरि खेलाइनेछ । समुहका शीर्ष दुई टिमले सेमिफाइनलमा स्थान बनाउने छन् र त्यसका विजेताबीच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ ।

अष्ट्रेलिया, इङल्याण्ड, भारत, नेदरल्याण्डस्, न्यूजिल्याण्ड, पाकिस्तान, दक्षिण अफ्रिका र श्रीलंका सन् २०२२ को विश्वकपमा शीर्ष आठमा रहेका टिम हुन् । अमेरिका र वेस्ट इन्डिज विश्वकपका आयोजक हुन् । यस्तै, अफगानिस्तान र बांगलादेश सन् २०२२ को नोभेम्बर भित्रको शीर्ष आठ पछि उच्च वरियतामा परेका टिम हुन् । यी १२ टिम विश्वकपमा सिधै छनोट भएका हुन् । आईसीसीले बाँकी ८ टिम एशिया, अफ्रिका, युरोप, अमेरिका र इस्ट एसिया प्यासिफिकबाट छनोट गरेको हो । एशियाबाट नेपाल र ओमान, युरोपबाट आयरल्यान्ड र स्कटल्यान्ड, अमेरिकाबाट क्यानडा, इस्ट एसिया प्यासिफिकबाट पपुवा न्युगिनी तथा अफ्रिकाबाट नामिबिया र युगान्डा गरी ८ टिम छनोट भएका हुन् ।

आगामी विश्वकपमा क्यानडा र युगान्डाले डेब्यू गर्दा, नेपाल र पपुवा न्युगिनीले दोस्रो पटक विश्वकप खेल्दै छन् । यस्तै, ओमान र नामिबियाले तेस्रो पटक सहभागीता जनाउँदा, आयरल्यान्डले पहिलोबाहेक सबै संस्करण खेलेको छ । स्कटल्याण्डले यसअघिका पाँच संस्करण खेलेको छ । अष्ट्रेलिया, इङल्याण्ड, भारत, न्यूजिल्याण्ड, पाकिस्तान, दक्षिण अफ्रिका र श्रीलंकाले विश्वकपमा लगातार सहभागीता जनाउँदा, नेदरल्याण्डस्ले भने सन् २०१० र २०१२ को विश्वकप छोडी ६ संस्करणमा सहभागीता जनाएको छ ।

टी–२० विश्वकपको उपाधि इंग्ल्यान्ड र वेष्ट इन्डिजले समान दुई÷दुई पटक जित्दा, भारत, पाकिस्तान, श्रीलंका र अष्ट्रेलियाले समान एक÷एक पटक उपाधि उचालेका छन् । यस्तै, विश्वकप क्रिकेट दक्षिण अफ्रिका, इंग्लयान्ड, वेष्टइण्डिज, श्रीलंका, बंगलादेश, भारत, यूएई र अष्ट्रेलियाले अहिलेसम्म एक÷एक पटक आयोजना गरेका छन् ।

पछिल्लो समय नेपालले विश्वकप लिग २ का साथै एशिया कप र एशियाली खेलकुदमा प्रशंसनीय प्रदर्शन गरेको थियो । सोही प्रदर्शनलाई कायम राख्न सके नेपालले टी–२० विश्वकपमा पनि राम्रो नतिजा हात पार्नेछ । यसअघि सन् २०१४ मा पारस खड्का नेतृत्वको राष्ट्रिय टोलीले टी–२० विश्वकप खेल्दा नेपाली टोलीले एउटा नयाँ युगको सुरुवात गरेको थियो । त्यही इतिहास दोहो¥याउने यात्रामा अहिले रोहितकुमार पौडेलको टोली अगाडि आएको छ । 


प्रतिक्रिया