भरतपुरको कोरोना अस्थायी अस्पताल बन्द

असार २, २०७७ | चितवन

निर्णय भएको ७२ घण्टामा नै तयार भएको भनेर चर्चामा आएको चितवनको भरतपुरको कोरोना विशेष अस्थायी अस्पताल बन्द भएको छ । भरतपुर अस्पतालले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै कोरोना विशेष अस्थायी अस्पताल बन्द भएको जानकारी गराएको हो । 

सो अस्पतालमा संक्रमित बिरामीहरु सुत्ने बेडमुनी बाथरुमको पानी बग्न थालेको थियो । अस्पतालमा भर्ना भएका संक्रमितहरुले नै भिडियो सार्वजनिक गरेर बेडमुनी पानी बग्ने गरेको दृश्य देखाएका थिए । 

अस्पतालले निकालेको विज्ञप्तिमा यो विषयमा केही बोलिएको छैन । त्यहाँ रहेका चार जना संक्रमित डिस्चार्ज भएको, भर्ना भएका अन्य १८ जना संक्रमितलाई शनिबार र आइतबार भरतपुरको सरकारी अस्पतालमा सारेपछि सो अस्पताल बन्द गरेको हो । सो अस्पताललाई पूर्ण रुपमा निर्मलीकरण गरिने विज्ञप्तिमा उल्लेख छ ।

भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपेरिटेन्डेन्ट डा.श्रीराम तिवारीले भन्नुभयो, ‘संक्रमितहरु रहेका कारण पहिला सुरक्षाका लागि अस्पताल निर्मलीकरण हुनु पर्दछ । त्यसपछि प्राविधिकहरु ल्याएर देखाउँछौं । प्राविधिकहरुले के भन्नु हुन्छ हेरौं, नभए तत्कालका लागि अस्पताल बन्द भएको हो ।’ 

गत बैशाख देखि सो अस्पतालको व्यवस्थपन भरतपुर अस्पतालले हेर्दै आएको छ । भरतपुरमा चितवन उद्योग संघले निर्माण गरेको अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनी केन्द्रमा कोरोना विशेष अस्थायी अस्पताल तयार भएको हो ।

संघले सो भवन तीन महिनाका लागि भनेर उपलब्ध गराएको डा.तिवारीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘मुख्य कुरो कोरोनाको उपचार गराउन आएका र उपचार गराउने चिकित्सकहरुका लागि सबै कुराले त्यहाँको पूर्वाधार उपयुक्त भए/नभएको अब प्राविधिकले निक्र्यौल गरेपछि बल्ल अरु निर्णय हुन्छ ।’

पूर्वाधार र मर्मतका लागि लाग्ने खर्च र खर्चको श्रोतका विषयमा सर्वपक्षीय भेला राखेर निर्णय गर्नुपर्ने अवस्था आएको डा.तिवारीले बताउनुभयो । अस्थायी अस्पतालको सञ्चालनको विषयमा सामूहिक निर्णय लिने उहाँले जानकारी दिनुभयो । 

कोरोनाको उपचारका लागि चितवन जिल्ला प्रशासन कार्यालयले गएको चैत्रमा जिल्लाका सरकारी, शिक्षण र निजी अस्पताललाई आ–आफ्नो अस्पतालमा कम्तिमा ७० बेडको आइसोलेसन वार्ड बनाउन भनेको थियो ।

लगत्तै भरतपुर महानगरपालिकाको संक्रियतामा जिल्लाका अन्य अस्पताल र निजी क्षेत्र भेला भएर भरतपुर क्षेत्रमा ७० बेडको कोरोना विशेष अस्थायी अस्पताल बनाउने निर्णय गरेका थिए । सो निर्णय भएको ७२ घण्टाभित्रै चैत्र ७ गते अस्थायी अस्पताल तयार भएको थियो । तर, छोट्टो समयपछि नै चैत्र १९ मा सो अस्पतालको व्यवस्थापन भरतपुर अस्पताललाई जिम्मा लगाउने निर्णय भएको थियो ।

सो अस्थायी अस्पतालबाट हालसम्म २८ जना संक्रमितको उपचार भएको भरतपुर अस्पतालले जनाएको छ । बाथरुमको पानी नै संक्रमितहरुको बेडमुनीबाट बग्न थालेपछि अस्थायी अस्पताल बन्द हुँदा त्यसको चाप भरतपुरको सरकारी अस्पतालमा पर्नेछ । त्यहाँ हाल १० शैय्याको कोभिड आईसीयू सहित ७५ शैय्याको आइसोलेसन वार्ड रहेको डा.तिवारीले जानकारी दिनुभयो । 


प्रतिक्रिया