धरानमा सात वर्षीय बालकको दुर्लभ एवम जटिल शल्यक्रिया सम्पन्न

असार १४, २०७९

धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सात बर्षीय बालकको दुर्लभ र जटिल शल्यक्रिया सम्पन्न भएको छ । अस्पतालको न्यूरो सर्जन युनिट र कार्डियो थोरासिक भास्कुलर युनिट (सिटिभिएस) मिलेर सफल शल्यक्रिया गरेपछि भारतको विहार सुपौल बस्ने रवि कुमारका ७ बर्षीय छोरा आशिक कुमारले नया जीवन दान पाएका हुन् । १० लाखमा एकजनालाई हुने दुर्लभ रोग न्यूरोग्याङ्गीलिओमा क्यान्सर पहिचान भएको शल्यक्रियामा सम्लग्न प्रमुख न्यूरो सर्जन डा आलोक दाहालले बताउनुभयो ।डा आलोकका अनुसार बालकको घांटीबाट सुरुहुने मेरुदण्डको हड्डी हुदै र फोक्सोको धेरैजसो भागमा फैलिएको एकप्रकारको क्यान्सरको ट्युमरलाई पहिले न्यूरो युनिटले र दुइसाता पछि सिटिभिएस टिमले शल्यक्रिया गरेका थिए । ती बालकलाई उपचारको लागि भारतको विहार प्रान्तस्थित सवै अस्पताल लगिएपनि बचाउन नसकिने भनेर फर्काईदिएको थियो । नेपालमा यस्ता रोग र शल्यक्रियाको रिसर्च कतै नभेटिएकाले अन्तराष्ट्रिय जर्नलमा दिने तयारी भइरहेको डाक्टर दाहालले जानकारी दिनुभयो ।

अन्तिम आशा राखेर विहारको सुपौलस्थित एक क्लिनिकमा लैजादै गर्दा एक अपरिचित व्यक्तिले रवि कुमारलाई नेपालको वीपी प्रतिष्ठान लैजान सुझाव दिएका थिए । संयोगले ती सल्लाह दिने व्यक्तिका बच्चालाई पनि ६ महिना अघिमात्र वीपी प्रतिष्ठानकै न्यूरो सर्जन डा आलोकले शल्यक्रिया गरेर रोग निदान गरिदिएका थिए । आफ्नो ७ बर्षीय छोरा आशिक कुमारलाई बचाउन भनेर गत अप्रिल १७ मा भर्ना गरिएको थियो । दाहालले भन्नुभयो, ‘यस्तो रोग १० लाख जनामा एकजनालाई हुनसक्छ । त्यो भन्दा महत्वपुर्ण एउटा बच्चाको न्यूरोग्याङ्गीलिओमाको उपचार गर्न न्यूरो सर्जन र कार्डियो थोरासिक भास्कुलर सर्जनले मिलेर गरेको यो मुुलुककै पहिलो हो ।’

न्यूरोग्याङ्गीलिओमाले च्याप्दै लगेपछि ती बच्चाको उमेर करिव चारबर्ष नपुग्दै हातखुट्टा चल्न छाडेको थियो भने फोक्सोमा पनि ट्युमर फैलिएपछि स्वास्प्रश्वासमा पनि समस्या देखिन थालेको थियो । प्रतिष्ठानका डा दाहालले भन्नुभयो, ‘बच्चालाई इमरजेन्सीमा ल्याइएको रहेछ । न्यूरोको समस्या देखेपछि मलाई बोलाए । मेरुदण्डको एक्सरे गर्दा ट्युमरले थिचिएर हाड नै बांगिएको र मक्किसकेको अवस्थामा देखियो । फेरि एमआरआई गर्नुपर्ने भयो । वीपी प्रतिष्ठानमा एमआरआइ सुविधा नभएपछि विराटनगर पठायौं । उनीहरुले एमआरआइ रिपोर्ट लिएर वीपी प्रतिष्ठानमा फर्केर हामीलाई देखाए । रिपोर्टमा घांटीदेखि सुरु भएको मेरुदण्डका तीन ठाउमा न्यूरोग्याङ्गीलिओमा (मासुको ट्युमर) पलाउनुका साथै फोक्सोमा अधिकांस भागमा पनि ट्युमर फैलिएको देखियो ।’

बालकको अवस्था झनझन जटिल हुदै गएकाले तत्काल मेरुदण्डको ट्युमर हटाउन न्यरो सर्जन युनिटले ट्युमर हटाउने निर्णय गरेको डा दाहालले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘तर फोक्सोको ट्युमर हटाउन कार्डियो थोरासिक भास्कुलर युनिट (सिटिभिएस) ले मात्र सक्ने प्रतिष्ठानका एसोसिएट प्रोफेसर डा लोकेश जैसवाल र डा विजय साहको टिमसंग सल्लाह गरियो । सल्लाहअनुसार पहिले न्यूरो सर्जरी युनिटमा भर्ना गरियो र अप्रेशन थिएटरमा करिव ५ घण्टा लगाएर बच्चाको मेरुदण्डको ट्युमर निकालेपछि पोष्ट अप्रेटिभ केयर डेमा भर्ना गरियो । १४ दिनसम्म त्यहा राख्दा बालकको हात खुट्टा चल्न थाल्यो । सामान्य हिडडुल गर्न सक्ने भएपछि सिटिभिएस युनिटका डा जैसवालको टिमले फोक्सोको ट्युमर निकाल्न छातिमा थोराटोमी प्रविधि (छातीमा दुइ ठाउ चिरा पारेर गरिने शल्यक्रिया) अपनाएर पाच घण्टामा ट्युमर निकाले ।’

फोक्सोबाट रगत ‘लिक’ रोक्न र स्वासफेर्न सजिलो होस भनेर पाइप (इन्टर कोस्टल ट्युव) लगाइदिएका थिए । सो ट्युव रहेसम्म बालकले नाक मुखबाट सास नफेरी ट्युवबाटै स्वास फेर्ने गरेका थिए । तीनदिनसम्म हेर्दा शल्यक्रिया गरिएको फोक्सोबाट रगत लिक नभएपछि ट्युव निकालिएको डा दाहालले बताउनुभयो ।   उहाकाअनुसार करिव १ महिनासम्म राखेर मेरुदण्ड र फोक्सोको फिजियोथेरापी गरेपछि गत मे १५ मा डिश्चार्ज दिएर फेर सोमबार फलोअपमा बोइलाइएको थियो । फलोअपमा आएका बालकको स्वास्थ्य अवस्था सामान्य रहेको डा दाहालले बताउनुभयो । वीपी प्रतिष्ठानमा बालकको मेरुदण्ड र फोक्सोको ट्युमर निकाल्दा बढीमा ७० हजार रुपैया खर्च भएको थियो । जवकी नेपालका कतिपय निजि अस्पतालले बालबालिकाको यस्ता विरलै रोगको शल्यक्रिया गर्दैनन् भने भारतका ठूला निजि अस्पतालहरुमा यति उपचार गर्दा कम्तिमा १५ लाख रुपैया भन्दा बढी खर्च हुने गरेको चिकित्सकहरुले बताउने गरेका छन् । 


प्रतिक्रिया