लुम्बिनी प्रादेशिक अस्पतालमा 'क्याथ ल्याब' सञ्चालन

फाल्गुन ४, २०८० | बुटवल

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा बिहीबारदेखि मुटुको अवस्था परीक्षण गर्ने क्याथ ल्याब सेवा सुरु भएको छ । प्रदेश सरकारले विशेषज्ञ अस्पताल बनाउने गरी तयारी गरिरहेको अस्पतालमा सेवा बिस्तार गर्दै मुटु रोगीको मुटुको धमनीको कार्य अवस्था हेर्ने एनजीओग्राम सेवा सुरु गरिएको हो । 

बिहीबार नै दुई जना मुटु रोगीले सेवा लिएको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. सुदर्शन थापाले बताउनुभयो । शल्यक्रिया बिना नै मुटुका सामान्य अवरोध हेर्ने, खोल्ने र मुटुको भल्बहरु साँघुरो भए घटाउने काम क्याथ ल्याबबाटै हुने उहाँले बताउनुभयो । 

सेवाको शुभारम्भसँगै अब मुटु रोगको छिटो पहिचान गर्न सजिलो हुने र उपचार थप सहज हुने अस्पतालले जनाएको छ । प्रदेश मातहतका अस्पतालहरुमा क्याथ ल्याब सुरु गर्ने लुम्बिनी पहिलो प्रादेशिक अस्पताल हो । 

संघीय सरकार अन्तर्गतको लुम्बिनी प्रदेशको भेरी अस्पतालमा पनि क्याथ ल्याब सेवा उपलब्ध छ । अस्पतालले स्थापनाको १ सय १४ वर्ष पुगेको अवसरमा सेवा सुरु गरेको जनाएको छ । 

अस्पतालका वरिष्ठ मुटु रोग विशेषज्ञ डा.अर्जुन बुढाथोकीको नेतृत्वमा डा. रोशन घिमिरे, मेसु डा. सुदर्शन थापा, डा. सुरेन्द्र कुँवर र डा. समिर आचार्यको समूहले गुल्मीका ७५ वर्षीया र ७२ वर्षीया महिलाको उपचार गरेर सेवा सुरु गरिएको हो । 

अस्पतालमा डा. बुढाथोकी र घिमिरेले नियमित सेवा उपलब्ध गराउने छन् । दैनिक झण्डै ३ हजार बिरामीले ओपीडी सेवा लिने अस्पतालमा मुटु रोगीको चाप बढ्दै गएपछि बिरामीलाई सहज र गुणस्तरीय उपचार सेवा दिन क्याथ ल्याब सेवा जरुरी भएको डा. बुढाथोकीले बताउनुभयो । 

लुम्बिनी प्रदेशको स्वास्थ्य मन्त्रालयले क्याथ ल्याब सञ्चालनको लागि चालू आर्थिक वर्षमा २२ करोड रुपैंयाँ विनियोजन गरेको थियो । 

कार्डियोलोजी विभागका जनस्वास्थ्य निरीक्षक रामप्रसाद अर्यालका अनुसार अस्पतालमा सिमेन आरसीटी एस मेसिन रहेको र यसले मुटु सम्बधी सम्पूर्ण उपचार गर्न सकिने बताउनुभयो ।

 क्याथ ल्याबमा २ जना चिकित्सक सहित २ जना स्टाफ नर्स, १ एनेस्थेसिया र १ हेल्पर गरी ८ जनाको समूहबाट सेवा प्रदान हुने अस्पतालमा प्रशासन प्रमुख राजन केसीले जानकारी दिनुभयो । 


प्रतिक्रिया