गोरखा डायरी

माघ १६, २०७३ | गोरखा

मनास्लु संरक्षित क्षेत्र भ्रमण गर्ने पर्यटकको संख्या बढेको छ । मनास्लु संरक्षण क्षेत्र आयोजना एमक्याप का अनुसार सन् २०१५ मा भन्दा सन् २०१६ मा एक सय एक प्रतिशत बढी पर्यटकले सो क्षेत्रको भ्रमण गरेका छन् । सन् २०१५ मा दुई हजार चार सय १९ र सन् २०१६ मा चार हजार आठ सय ७२ पर्यटक मनास्लु भ्रमणमा आएका एमक्यापका आयोजना प्रमुख राजकुमार गुरुङले जानकारी दिनुभयो । २०७२ वैशाख १२ को भूकम्पका कारण मनास्लु पदमार्गको ठाउ ठाउमा पहिरो गएको थियो । पदमार्ग जोखिममा परेपछि सो क्षेत्र भ्रमण गर्ने पर्यटकको संख्या घटेको थियो ।

उत्तरी नाकाको सामागाउँ गाविस हुदैँ चीनको सिमा सम्म जोड्ने सडकको ट्रयाक नेपाली सेनाले खन्ने भएको छ । ट्रयाक खुलि सकेको स्थान लापु गाविसको हावाडाँडा देखि सामागाउँ सम्मको सडक सेनाले बनाउने रक्षा मन्त्रालयका सहसचिव उत्तमप्रसाद नागीलाले बताउनु भयो । कार्यदल बनाएर सडकको सर्भे गर्ने र आवश्यक सामग्री खरिद गर्ने काम पहिलो चरणमा हुने उहाँको भनाइ छ । बेनीघाट–आरुघाट हुदैं लार्केभज्याङ सडक बनाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले रक्षा मन्त्रालयलाई ३ करोड ५० लाख बजेट अख्तियारी दिएको हो ।

भूकम्प पीडितहरुलाई घर पुनर्निमाण गर्न काठको अभाव हुन थालेको छ । घरका लागि झ्याल ढोका बनाउने काठ नहुँदा काम नै रोकिन थालेको पीडितहरुले गुनासो गरेका छन् । भूकम्प पीडितहरुले काठ माग गर्न थालेपछि उपभोक्ताहरुले वन कार्यालयबाट स्वीकृति लिन थालेका छन् । कार्यालयले स्वीकृति दिएको काठ घर बनाउन अपूग जिल्ला वन अधिकृत जिवनाथ पौडेलले बताउनु भयो । काठको माग अत्याधिक रहेपनि आवश्यकता अनुसार उत्पादन नहुँदा अभाव हुन थालेको हो ।

भूकम्पपछि अन्धकार भएको सिम्जुङ्ग गाविसमा अहिले सम्म बिजुली बल्न सकेको छैन । स्थानिय झ्याल्ला खोला लघु जलविद्युत आयोजना भूकम्पले भत्काए पछि करिब ६ सय घरधुरी अन्धकार बनेको थियो । संघसंस्थाले राहतमा वितरण गरेको सोलार पनि बिग्रेको स्थानिय सुवास अधिकारीले बताए । बिजुली नहुदा कुटानी पिसानी, मोबाईल चार्ज गर्न, रेडियो सुन्न, टेलिभिजन हेर्न समस्या भएको छ ।

 


प्रतिक्रिया