मोरङ डायरी

वैशाख ४, २०७५ | मोरङ

– व्यापारिक मार्ग विस्तार आयोजना अन्तर्गत विराटनगरस्थित महेन्द्र चोकदेखि बरगाछीसम्मको सडक बैसाखभरिमा ९ मिटर दायाँबायाँ कालोपत्रे गरिने भएको छ । महेन्द्र चोकदेखि बरगाछीसम्म २२ सय मिटर मूल बजार क्षेत्र भएकोले धुलो उड्न नदिन कालोपत्रे सुरु गरिएको हो । तुदी रमण जेभि काठमाडौंले उक्त क्षेत्रमा निर्माण कामको ठेक्का पाएको छ । ६ लेन सडक परियोजना प्रमुख बिनोदकुमार मौवारले परियोजना अन्तर्गत रानीदेखि धरानसम्म ४९ किलोमिटर सडकमध्ये हालसम्म १६ दशमलव ३ सय ५५ किलोमिटरमा ८ अर्ब ७० करोड ३ लाखको लागतमा १३ वटा निर्माण कम्पनीले निर्माण काम गरिरहेको बताउनुभयो । 

विराटनगर भन्सार कार्यालयमा राजश्व अपचलन गरेको रकम भन्सार एजेण्टले बैंक खातामा रकम जम्मा गरेको पाइएको हो । सुरेश क्लियरिङ एण्ड फरवार्डिङ सर्भिस विराटनगरका प्रोपराइटर भन्सार एजेण्ट विराटनगर ७ का सुरेश बोहोरा र उनका प्रतिनिधि भन्सार एजेण्ट ललित बोहोराले भन्सार राजश्व अपचलन गरेका थिए । भन्सार कार्यालयको राजश्व राष्ट्रिय बाणिज्य बैंक शाखा सुख्खा बन्दरगाह रानी, विराटनगरले भन्सार कार्यालयको नाममा दाखिला गरिसकेको सूचना अधिकारी थापाले बताउनुभयो । बैंक कर्मचारीको मिलेमतोमा बैंकको भन्सार काउण्टरमा सुरेश क्लियरिङ एण्ड फरवार्डिङ सर्भिस विराटनगरले प्रज्ञापन पत्र वापतको भन्सार राजश्व बैंकमा दाखिला नगरी अपचलन गरेको थियो । सर्भिसका प्रोपराइटर तथा भन्सार एजेण्ट सुरेश र उनका प्रतिनिधि भन्सार एजेण्ट ललितले बैंक कर्मचारीको मिलेमतोमा ९ करोड ६१ लख ५५ हजार भन्सार राजश्व अपचलन गरेको थियो । उनीहरुले बैंकमा उक्त रकम बुझाएको क्षेत्रीय राष्ट्रिय बाणिज्य बैंक विराटनगरले जनाएको छ । 

विराटनगरस्थित एकीकृत भन्सार जाँच चौकीको निर्माण सुस्त गतिमा भइरहेको छ । जाँच चौकीको विराटनगर १७ स्थित भेडियारीमा १ सय २९ विघामा भारत सरकारले २ अर्ब ८ करोडको लागतमा निर्माण थालेको छ । भारतले दिनेशचन्द्र आर. अग्रवाल इन्फ्राकोण प्रा.ली. अहमदावादलाई अत्याधुनिक सुबिधासम्पन्न सो जाँच चौकी निर्माणको ठेक्का दिएको छ । भारततर्फ निर्माण काम सम्पन्न भएर सञ्चालन भइसक्दा पनि यतातिर हालसम्म मुख्य प्रसासनिक भवनको मात्रै काम अघि बढेको छ । सन् २०१८ डिसेम्बरमा निर्माण सम्पन्न गर्नुपर्ने जाँच चौकीको पर्खालको कामसमेत अहिलेसम्म सम्पन्न हुन सकेको छैन । प्रवेश र निकासीद्वार, गोदाम घर, सुरक्षा ब्लक, क्याण्टिन, चिलिङ्ग सेण्टर, पशु र कृषि क्वारेण्टाइन चेक पोष्ट, ल्याबलगायतको संरचनाको जगसम्म हालिएको छैन । जाँच चौकीदेखि रानी र रोडशेष चोकबीचमा जोड्ने ६० मिटर चौडा सडकमा माटोको काम हुँदै छ ।

जिल्लास्थित लेटाङ नगरपालिकाको वडा ७ वारङ्गीमा अहिलेसम्म पनि विद्युत पुग्न सकेको छैन । यसअघिका वारङ्गी गाबिसले सबै बजेट सडक, बाटो खन्न, खानेपानी र विद्यालयमा नै खर्च गर्दै आएकोले विद्युतीकरण हुन नसकेको लेटाङ ७ का वडा सचिव बिरमान तामाङले बताए । घरमा उज्यालोका लागि सोलार भएपनि विद्युत अभावमा औद्योगिक काम हुन नसकेको स्थानीयको गुनासो छ । विद्युतीकरण योजनाका उपभोक्ता समिति अध्यक्ष पदम बहादुर लिम्बुले जिल्लाले तोकेको दर रेटमा विद्युत पोल खरिद गर्न नसकिने अबस्थाले काम अघि बढाउन नसकेको बताउनुभयो । लेटाङ ७ का वडा अध्यक्ष नरेन्द्रकुमार लिम्बुले यस बर्ष वडाको बजेटमध्ये ६ लाख र नरपालिकाले दिएको २५ लाख बजेटले विद्युतीकरणको काम अघि बढाएको उल्लेख गर्नुभयो । लेटाङ नगर प्रमुख शंकर राईले नगरभित्रका वडा १, ७ र ८ मा विद्युतीकरण हुन नसकेको बताउनुभयो । 

 


प्रतिक्रिया