रामेछाप डायरी

रेडियो कान्तिपुर संवाददाता

मंसिर २०, २०७९ | रामेछाप

जिल्ला प्रशासन कार्यालय रामेछापले राहदानीकालागि निशूल्क फाराम भर्ने व्यवस्था मिलाएको छ । बाहिर फाराम भर्दा अनुचित रकम लिएको गुनासो आएपछि कार्यालयले आईतबार देखि आफ्नै कार्यालयमा डेक्स राखेर निशूल्क फाराम भरिदिन थालेको हो । अनलाईनको लागि राहदानी फाराम भर्दा ५ सय रुपैयाँ भन्दा बढी रकम लिएको गुनासो सेवाग्राहीले गरेको प्रशासनले जनाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी अनोजकुमार घिमिरेले बाहिरबाट भरेर आउने फारामलाई कार्यालयले अब अस्वीकार गर्ने बताउनुभयो । उहाँले सर्वसाधारणका लागि केहि समय प्रतिक्षा गर्नुपर्ने अवस्था भएपनि पैसा नतिरी सेवा पाउने अवस्था प्रशासनले मिलाएको छ । कार्यालयमै राहदानी भर्न थालेपछि सेवाग्राहीको भिड लागेको छ । राहदानीकैकाम सगं जोडिएको अनलाईन भौचर भर्ने र फोटोकपी लगाएतको कामका लागि भने बाहिरै निर्भर हुनु परेको गुनासो सेवा ग्राहिहरुले गरेका छन् ।

 नेपाल विद्युत प्राधिकरणले सुनकोशी २ जलविद्युत आयोजना निर्माण गर्ने कार्यलाई प्राथमिकतामा राखेपछि तामकोशी किनारमा रहेका वस्ती डुवानमा पर्ने सम्भावना बढेको छ । प्राधिकरणले सुनकोशी २ जलविद्युत आयोजना निर्माण गर्ने भन्दै वातावरणीय अध्ययन थालेपछि माझी समुदाय लगाएत तामाकोशी र सुनकोशी किनारका बासिन्दा अन्यौलमा परेका छन् । आयोजना निर्माण गर्दा रामेछापको तिल्पुङ खोला दोभान सम्म डुवान हुनसक्ने भन्दै स्थानीय चिन्तीत छन् । सो क्षेत्र डुवानमा पर्ने हल्ला चलेपछि सर्वसधारणले ठुला संरचना निर्माणमा लगानी गर्न छोडेका छन् । सिन्धुलीको च्याकुटार र रामेछापको रामपुरको सिमामा पर्ने सुनकोशी नदीमा उच्च बाँध निर्माण गर्दा सुनकोशी तर्फको दोभानटार सम्मको भाग डुवानमा पर्ने प्राविधिक प्रतिवेदन सार्वजनिक भएको छ । विपी राजमार्ग, दर्जनौं सडक पुल र खुर्कोट नयाँ शहर, पुष्पलाल मार्ग, मन्थली विमानस्थल जस्ता ठुला लगानीका पूर्वाधार समेत डुवानमा पर्ने प्रतिवेदनमा उल्लेख छ । अहिले आयोजना आवश्यक नभएको भन्दै सो क्षेत्रका बासिन्दाले चरणबद्ध आन्दोलन थालेका छन् ।

लिखु नदीमा निर्माणाधिन तल्लो लिखु जलविद्युत आयोजनाले व्यवसायीक उत्पादन थालेको छ । कुल २८ दशमलव १ मेघावाट क्षमताको उक्त आयोजनाबाट उत्पादित विद्युत २३ किलोमिटर लामो १ सय ३२ केभि प्रशारण लाईन मार्फत रामेछापकै न्यू खिम्ती सव स्टेशनमा पुर्‍याएर केन्द्रीय प्रशारण लाईनमा जोडिएको छ । सानिमा हाईड्रो पावर एण्ड कन्ट्रक्सन कम्पनी प्रर्वद्धक रहेको उक्त आयोजनाको २०७४ साल देखि निर्माण थालिएको थियो । रामेछापको लिखु तामाकोशी गाउँपालिका २ सैपुमा पर्ने लिखु नदिमा बाँध बांधेर रामेछापकै विजुलीकोट स्थित रातामाटामा उत्पादन गृह निर्माण गरीएको सो आयोजनाको निर्माणमा करिव ६ अर्व ३७ करोड लगानी भएको छ ।

रामेछापको लिखु तामाकोशी ६ को केउरिनी विर्ताका ३९ परिवारलाई पहिरोको जोखिमबाट बचाउन स्थानान्तरण गरीने भएको छ । २०५० साल देखि केउरीनी विर्ता गाउँ धसिएर तल झर्न थालेपछि सो स्थानमा वसोवास गर्ने जोखिममा परेकाले स्थानान्तरण गर्न थालिएको हो । शहरी विकास मन्त्रालयले विर्ताका ३९ परिवारलाई नजिकै रहेको सुरक्षित स्थानमा सार्ने कामका लागि चालु आर्थिक बर्षमा १ करोड ५० लाखको जग्गा खरिद गर्ने सघन शहरी तथा भवन निर्माण आयोजना रामेछापले जनाएको छ । सो आयोजनाका अनुसार स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा सार्नका लागि जग्गाको पहिचान भइसकेको छ ।  


प्रतिक्रिया