बर्दिया डायरी

फाल्गुन २९, २०७९ | बर्दिया

स्वास्थ्य परीक्षण गर्दा बर्दियाको १७ प्रतिशत बढी थारु समूदायमा सिकलसेल एनोमनिया फेला परेको छ । कतिपयले उपचार नगराएका कारण यो भन्दा पनि बढी हुन सक्ने अनुमान चिकित्सकको छ । स्वास्थ्य कार्यालय, बर्दियाका प्रमुख गोकर्ण गिरीका अनुसार जिल्लाको आठै पालिकामा १७ प्रतिशत बढी थारु समूदायमा यो रोग फेला परेको बताउनुभयो । बर्दियामा ५१ प्रतिशत थारु समूदायको बसोबास छ । सिकलसेल एनोमिया रोगीलाई रगत कम हुने, रक्तकोष मर्ने, जण्डिस देखा पर्ने, शरिरका जोर्नी दुख्ने, सुनिने, शरिर दुःख्ने, दुब्लाउने, हल्का ज्वरो आउने लगायतका लक्षण भएको जिल्ला अस्पताल, बर्दियाका मेडिकल सुपरिन्टेन डाक्टर सुभाष पाण्डेयले बताउनुभयो ।

भारतसँगको खुला सिमाना र जङ्गल क्षेत्रमा सुरक्षाकर्मीको कमजोर उपस्थितिको फाइदा उठाउँदै बर्दियामा लागू औषधको कारोबार बढेको छ । बर्दियासँग जोडिएका भारतीय सीमावर्ती बजार लागूऔषध कारोबारी र प्रयोगकर्ताको प्रमुख गन्तव्य बन्दै गएको छ । चालू आर्थिक वर्षको फागुन दोस्रो सातासम्म प्रहरीले ६० जना लागूऔषध कारोबारी र सेवनकर्तालाई पक्राउ गरेको छ । तीमध्ये २२ जना ब्राउन सुगरका कारोबारी र ३८ जना सेवन कर्ताबाट करिब ६२ ग्राम ब्राउन सुगर र ४ किलो ४ ग्राम बढी गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका डीएसपी हिक्मत बहादुर बोहोराले बताउनुभयो ।

एक दशक यता भारतीय सीमा कतरनियाघाट वन्यजन्तु आरक्षसँग जोडिएको शंकरपुर र आसपासका क्षेत्र हात्तीको त्रास फैलाएको छ । त्यहाँ गत वर्ष १५ वटा घर हात्तीले भत्काएको थियो । निरन्तर भारतबाट आउने वन्यजन्तुले मानवस्तीमा प्रवेश जारी रहँदा कुनैपनि बाली सग्लो रुपमा भित्राउने अवस्था नआएपछि खेती छाड्ने अवस्था आएको स्थानीयको गुनासो छ । हात्ती आंतक रोक्न स्थानिय पालिका, प्रदेश सरकारसँग स्थानीय बासिन्दाले माग गरेका छन् ।

पन्टुन ब्रिज विगत सात वर्षदेखि प्रयोगविहीन भएपछि डब्बाहरु खिया लागेर प्वाल परेको छ । कर्णाली नदीको भंगालो गेरुवा नदीस्थित कोठियाघाटमा पक्की पुल निर्माण भएपछि हिउॅदमा सञ्चालन हुँदै आएको पन्टुन ब्रिज अहिले बेवारिस अवस्थामा रहेको छ । एशियाली विकास बैकको ऋण सहयोगमा चीनमा निर्मित पन्टुन ब्रिज २०५६ सालमा सञ्चालनमा आएको हो । सो ब्रिज अन्यत्र काम लाग्ने भएकाले यसलाई प्रयोगमा ल्याउन जरुरी छ ।


प्रतिक्रिया