दशैंका लागि तिब्बतबाट भेंडाच्यांग्रा आउन थाल्यो 

आश्विन ९, २०७६ | रसुवा

रसुवाको रसुवागढी नाका हुँदा दशैंका लागि तिब्बतबाट भेंडाच्याँग्रा आयात सुरु भएको छ । पहिलो चरणमा व्यापारीले रसुवागढी नाका हुँदै २ सय ३० वटा भेंडाच्याँग्रा नेपाल भित्र्याएका छन् । तिब्बतबाट ल्याइएको भेंडाच्याँग्रा बुधबार रसुवागढी नाका पुर्‍याएको छ ।

भेंडाच्याँग्रा लिन नेपाली व्यापारीहरु केरुङसम्म पुग्ने गर्दछन् । केरुङमा भेंडाच्याँग्रा नपाइएने भएकाले तिब्बतको जोङखाबाट त्यहाँका स्थानीय व्यापारीले नाका सम्म ढुवानी ल्याइए दिने गरेको व्यापारी बताउँछन् । तिब्बतबाट भेंडाच्याँग्रा ल्याउनको लागि पहिले भुक्तानी गर्ने पर्ने हुन्छ ।

केरुङ सम्म भेंडाच्याँग्रा ल्याइदिने मान्छे नभएकाले पछिल्लो समय रसुवागढी नाका हुँदै भेंडाच्याँग्रा आयातमा कमी आएको व्यवसायी बताउँछन् । जिल्ला बासीलाई केरुङ भन्दा माथि जाने अनुमति नभएकाले भेंडाच्याँग्रा आयात घटेको हो ।

कालिका गाउँपालिका–२ कालिकास्थानका व्यापारी दिवाकर न्यौपानेले केरुङबाट भेंडाच्याँग्राको प्रति गोटा २३ हजार देखि २६ हजार रुपैयाँ सम्म मूल्य तिरेर ल्याउने गरेको बताउनुभयो । खसीबोकाको तुलनामा भेंडाच्याँग्रा निकै महँगो हुने गरेकाले पनि आयात घटेको उहाँले बताउनुभयो । 

तिब्बतबाट आयात गरिएको भेंडाच्याँग्रा जिल्लामा नै बिक्री हुने गरेको छ । लेकमा हुर्केको बोसो कम हुने भेंडाच्याँग्राको एकदम मासु स्वादिलो हुन्छ । जति नै महंगो परे पनि वर्षको एक पटक दशैंमा भेंडाच्याँग्रा खरिद गरेर खाने चलन रहेको छ । यो वर्ष रसुवागढी नाकाबाट पाँच सय भन्दा बढीको संख्यामा भेंडाच्याँग्रा आयात हुने अनुमान गरिएको छ ।

जिल्लामा  भेंडाच्याँग्राको खपत नभएमा नुवाकोटसम्म व्यापारीहरुले लैजाने गरेका छन् । रसुवागढी नाकाबाट आयात कम हुँदा यस अघि मुस्ताङबाट पनि भेंडाच्याँग्रा खरिद ल्याइएको थियो । २०७० साल भन्दा अगाडि यो नाकाबाट पाँच हजारदेखि ८ हजारसम्म भेंडाच्याँग्रा आयात हुने गरेको थियो ।


प्रतिक्रिया