तीन महिनामा २४९ टन ओखर आयात

कार्तिक ९, २०७६ | रसुवा

नेपालमा चिनियाँ ओखरको आयात वर्षेनी बढ्दै गएको छ । तिहारलाई लक्षित गर्दै चालू आर्थिक वर्षको तीन महिनामा रसुवागढी नाकाबाट २ लाख ४९ हजार २ सय ४१ किलो ओखर आयात भएको छ । छोडाएको र बोक्रा सहित गरी २ लाख ४९ हजार २ सय ४१ किलो ओखर आयात भएको रसुवागढी भन्सार कार्यालयले जनाएको छ ।

अघिल्लो आर्थिक वर्षको सोही अवधिमा १ लाख २२ हजार ३ सय ८२ केजी ओखर आयात भएको भन्सार कार्यालयसँग तथ्यांक छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा चालू आर्थिक वर्ष ओखर आयात दुई प्रतिशतले वृद्धि भएको छ ।

यो तीन महिनामा रसुवागढी नाकाबाट ७ करोड ८ लाख ८० हजार ३ सय ३३ रुपैयाँ बराबरको ओखर आयात भएको रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत पुण्यविक्रम खड्काले बताउनुभयो । आन्तरिक उत्पादन पर्याप्त नहुँदा चीनबाट ओखर आयात बढेको उहाँले बताउनुभयो ।

यो नाकाबाट आर्थिक वर्ष ०७४/०७५ मा १ लाख २ हजार ४ सय ९० केजी र आर्थिक वर्ष ०७५/०७६ मा ३ लाख ९९ हजार १ सय ३७ केजी ओखर आयात भएको कार्यालयको तथ्याङ्क छ । नेपालमा चीन, भारत, चिली, अमेरिका र यूएईबाट  ओखर आयात हुने गरेको छ । नेपालको हिमाली र उच्च लेकाली क्षेत्रहरुमा ओखर उत्पादन हुने गर्दछ ।

राष्ट्रिय फलफूल विकास केन्द्रको तथ्याङक अनुसार आर्थिक वर्ष ०७४/०७५ मा ४ हजार ९ सय ७० हेक्टर क्षेत्रफलमा ओखर खेती गरिँदै आएको छ । त्यस मध्य १ हजार ९ सय ८५ हेक्टर क्षेत्रफलबाट मात्र उत्पादन हुने गरेको छ । नेपालमा वार्षिक ८ हजार २ सय १३ टन मात्र ओखर उत्पादन हुने गरेको छ । कर्णाली प्रदेशमा सबै भन्दा धेरै र प्रदेश ३ मा सबै भन्दा थोरै ओखर उत्पादन हुने गरेको केन्द्रको तथ्याङकले देखाएको छ । 


प्रतिक्रिया