धितोपत्र बजारमा करिब ३ अर्बको कारोबार

फाल्गुन ८, २०७६ | काठमाडौं

साताको पहिलो दिन गत आइतबारबाट निरन्तर उकालो लागेको धितोपत्र बजार, कारोबार हुने साताको अन्तिम दिनपनि उच्च अंकले बढेको छ । बजार परिसूचक नेप्से आज २९ दशमलव ३२ अंकले बढेर १ हजार ४ सय ३४ दशमलव ५७ बिन्दुमा पुगेको छ । नेप्सेमा आज २ अर्ब ७८ करोड ५० लाख रुपैयाँ बढीको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

नेप्सेसँगै कारोबार रकममा पनि उल्लेख्य वृद्धि भएको छ । कारोबार रकम अघिल्लो दिनको तुलनामा एक अर्ब १६ करोड रुपैयाँले बढेको छ । अघिल्लो दिन सामान्य सुधार देखिएको नेप्सेमा एक अर्ब ६२ करोड रुपैयाँ बढीको कारोबार भएको थियो । 

कारोबार भएका व्यापार र म्यूचुअल फण्ड बाहेक बाँकी सबै कम्पनी समूहको उपसूचक उकालो लागेको छ । सबैभन्दा बढी जीवन बीमा कम्पनी समूहको उपसूचक ३ सय ८५ दशमलव ३९ अंकले बढेको छ । यस्तै, निर्जीवन बीमाको ३ सय ७४ दशमलव १, लघुवित्तको १ सय ५९ दशमलव ३२, उत्पादनमूलकको ९७ दशमलव २६ र होटल कम्पनी समूहको उपसूचक ४९ दशमलव २९ अंकले बढेको छ । 

नेप्सेमा आज १ सय ८० कम्पनीका २३ हजार ९ सय कारोबारबाट ५८ लाख २९ हजार ५ सय १० कित्ता सेयर किनबेच भए । कारोबार हुने साताको अन्तिम दिन नेप्सेमा आज शिवम सिमेन्ट लिमिटेडको सबैभन्दा बढी कारोबार भएको छ । 


प्रतिक्रिया