मनाङमा जोडियो पहिलोपटक राष्ट्रिय प्रसारण लाइन

मनाङको चामे गाउँपालिका–१, स्याक्र्युमा स्थापना गरिएको विद्युत प्राधिकरणको सवस्टेशन र सवस्टेशनमा जडित विद्युतको राष्ट्रिय प्रसारण लाइन बहाक ३१५ केभीएको ट्रान्सफर्मर लगायत । तस्बिर : रेडियो कान्तिपुर । 

फाल्गुन १८, २०७७ | लमजुङ

हिमाली जिल्ला मनाङ राष्ट्रिय प्रसारण लाइनको सञ्जालमा जोडिएको छ । लघु जलविद्युतको भरमा रहेको मनाङमा केन्द्रीय प्रसारण लाइनको बिजुली बल्न थालेको छ । 

लमजुङको मर्स्याङदी गाउँपालिका–५, घेर्मुस्थित राँधी साना जलविद्युत आयोजनामा निर्मित सवस्टेशनबाट २९ किलोमिटर टार टाँगेर ३३ केभीए विद्युत प्रसारण लाइन चामे गाउँपालिका–१ स्यार्क्युस्थित सवस्टेशनमा जडान गरिएको छ । सो सवस्टेशनमा ३१५ केभीएको ट्रान्सफर्मर जडान गरेर ११ केभीएको प्रसारण लाइन सदरमुकाम चामे पुर्‍याइएको छ । पछि थप १ दशमलव ५ एमबीएको राखिने भएको छ । 

बजार क्षेत्रलाई ध्यानमा राखेर चामेमा ५० केभीएको ट्रान्सफर्मर जडान गरी विद्युत वितरण थालिएको छ । सरकारी कार्यालय क्षेत्र माडामा १ सय केभीएको ट्रान्सफर्मर जडानको कार्य भईरहेको छ । नेपाल विद्युत प्राधिकरण मनाङ वितरण केन्द्रका प्रमुख मिलन सुवेदीका अनुसार पोल गाढ्नुका साथै तार टाँगेर सकिएको २ वर्षपछि राष्ट्रिय प्रसारण लाइन जडान गर्न सफल भएको हो । 

उहाँका अनुसार राँधीदेखि स्यार्क्युसम्म करीब ४ सय ६० वटा टेलेस्कोपिक पोल राखिएको छ । यसअघि जडान गरिएको माटोबाट बनेको पोर्सेलिन इन्सुलेटर ‘टेक्निकल म्याच’ भएको थिएन । यसबाट विद्युत चार्ज नहुँदा प्रसारण लाइन मनाङ पुगेको थिएन । अहिले हरेक पोलका तारमा रबर टाइपको कम्पोजिट पोलिमर (फाइबर) इन्सुलेटर जडान गरेपछि मनाङमा विद्युत प्रसारण लाइन पुगेको प्राधिकरण मनाङ वितरण केन्द्रका प्रमुख सुवेदीले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘यहाँको चिसो, हिमपात, हावाहुरी लगायतले पहिलेको इन्सुलेटरबाट विद्युत चार्ज भएन । यसपटक माननीय पोल्देन छोपाङ गुरुङको पहलमा पोलिमर इन्सुलेटर ल्यायौं । यसले काम गर्‍यो ।’ फागुन २ गतेदेखि विद्युत चार्ज गरिएकोमा ‘ट्रिपिङ’ नरहेको उहाँले बताउनुभयो । यद्यपि, फाउन्डेसन र सिभिल वर्क सकिए पनि इलेक्ट्रिकल इकुपमेन्टर फिटिङ र एसेम्बल गर्न बाँकी रहेको उहाँले बताउनुभयो । 

विद्युतलाई मनाङ ङिस्याङ गाउँपालिका–१, भ्राताङमा जडान कार्य थालिएको छ । चामेदेखि करीब ९ किलोमिटरसम्म प्राविधिक काम सकेर लाइन जडानको तयारी थालिएको छ । भ्राताङस्थित एग्रो मनाङ प्रालि (स्याउ फार्म) का अध्यक्ष समराज गुरुङले ‘थ्री फेज’ लाइन जडान गरी स्याउ भण्डार सञ्चालनको तयारी भईरहेको उहाँले बताउनुभयो । 

‘अहिलेसम्म केन्द्रीय प्रसारण लाइन नहुँदा कफि पनि राम्रोसँग पाक्ने थिएन । अब हाम्रो फार्म पूर्ण क्षमतामा सञ्चालन हुनेछ । स्याउ कुहिने छैन । पर्यटकले राम्रो सेवा पाउने छन् ।’ उहाँका अनुसार राष्ट्रिय प्रसारण लाइन बनेपछि मनाङ आउने पर्यटकले पनि सहजता महसुस गर्नेछन् । आफ्नै स्याउ उद्योगमा समस्या हुनुका साथै लघु जलविद्युतबाट विद्युत अपुग भएपछि प्रतिनिधि सभा सदस्य पोल्देन छोपाङ गुरुङले प्रसारण लाइनका लागि पहल थालेको एग्रो मनाङ प्रालि (स्याउ फार्म) का अध्यक्ष गुरुङले बताउनुभयो ।

 उहाँले भन्नुभयो, ‘पहिले जडान भएको सामग्रीमा प्राविधिक समस्या आयो । पछि बुझ्दै जाँदा नयाँ सामग्री पाइन्छ भनेपछि ऊर्जा मन्त्रालयमा गएर पहल गर्‍यौं । आफैं धायौं । अहिले हाइटेन्सन लाइन मनाङ पुगेको छ ।’ ऊर्जा मन्त्रालयले नेपाल विद्युत प्राधिकरण मार्फत विनियोजन गरेको ७२ लाख ८२ हजार रुपैयाँ बजेटमा पछिल्लो काम सकेर मनाङमा केन्द्रीय प्रसारण लाइन पुर्‍याइएको प्राधिकरण मनाङ वितरण केन्द्रका प्रमुख सुवेदीले बताउनुभयो । 

उहाँका अनुसार जयकालिका भगवती/आसुतोष इन्फ्रा जेभीले असोजमा सम्झौता गरेर १ वर्षमा सक्ने गरी कामको जिम्मा लिएकोमा ४ महिना (माघ) मै सकेको छ । फागुनबाट लाइन चार्ज सुरु भएको प्राधिकरण मनाङ वितरण केन्द्रका प्रमुख सुवेदीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘मनाङमा २०६२ ताकादेखि केन्द्रीय प्रसारणको लागि पहल भएको बुझिन्छ । १५ वर्षपछि बल्ल केन्द्रीय लाइन पुग्यो ।’

उहाँका अनुसार खाङसारदेखि तिलिचो बेस क्याम्पसम्म पोल गाढ्ने काम सकिएको छ । टंकी मनाङदेखि थोराङ बेस क्याम्पसम्म पनि पोल गाढ्ने काम सकिएको छ । चिसो सकिएपछि तार टाँग्ने काम सुरु गरिने प्राधिकरण मनाङ वितरण केन्द्रका प्रमुख सुवेदीले बताउनुभयो । 

भ्राताङदेखि माथिल्लो मनाङको सब्जेखोलासम्म लाइन टाँगिसकिएको छ । उहाँले भन्नुभयो, ‘हाम्रो कार्यालय मनाङमा ७६ भदौ २४ देखि सञ्चालनमा आयो । त्यसपछि हामी दिनरात काममा खटिरहेका छौं । हाम्रो खटाइले केही काम देखिएको छ ।’

प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले लघु जलविद्युतबाट भोल्टेज कम आउँदा सबैजसो क्षेत्रमा प्रभाव परेको बताउनुभयो । ‘अस्पतालको मेशिन चल्दैन । प्रशासन, बैंक, विभिन्न कार्यालयमा कम्प्युटर चल्दैन । राम्रोसँग बत्ति बल्दैन । चिसोमा हिटर बल्दैन । चार्ज समेत राम्रोसँग हुँदैन’ उनले भने, ‘केन्द्रीय प्रसारण लाइन जोडियो । अब यावद समस्या समाधान हुन्छन् जस्तो लाग्छ ।’ माग अनुसार लघु जलविद्युतले लोड धान्न नसक्दा निकै सास्ती खेप्दै आउनु परेको उहाँको भनाई छ ।


प्रतिक्रिया