२० वर्षसम्म बैंकबाट नझिकिएको रकम कोषमा जम्मा गर्न निर्देशन

पुस २९, २०७८ | काठमाडौं

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा रहेको निष्क्रिय खाताबाट २० वर्षसम्म नझिकिएको रकम बैंकिङ विकास कोषमा जम्मा गर्न निर्देशन दिएको छ । 

राष्ट्र बैंकले आज एक सूचना प्रकाशित गर्दै बैंकिङ विकास कोषमा जम्मा भएको रकम बैंकिङ विकासमा प्रयोग गरिने जनाएको छ । 

केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा ११२ को उपदफा १ बमोजिमको रकम कोषमा जम्मा गर्न भनेको हो । 

रकम कोषमा जम्मा भएपनि निक्षेपकर्ताको विस्तृत विवरण भने बैंक तथा वित्तीय संस्थाले नै सुरक्षित राख्नुपर्ने राष्ट्र बैंकले जनाएको छ । 

कोषमा जम्मा भइसकेको रकम उपर निक्षेपकर्ता वा निक्षेपकर्ताको कानूनी हकवालाबाट सम्पूर्ण कानूनी प्रक्रिया पूरा गरी दाबी पर्न आएमा सम्बन्धित बैंक तथा वित्तीय संस्थाले प्रमाण सहित राष्ट्र बैंकमा दाबी पेश गर्नुपर्नेछ । 

आवश्यक कागजातसहित दाबी पर्न आएमा सम्बन्धित बैंक तथा वित्तीय संस्थालाई बिना व्याज रकम फिर्ता गरिने राष्ट्र बैंकले जनाएको छ ।


प्रतिक्रिया