विभिन्न १० प्रकारका विलासिताका सामान आयातमा रोक

रेडियो कान्तिपुर संवाददाता

वैशाख १४, २०७९ | काठमाडौं

सरकारले विभिन्न १० प्रकारका विलासिताका सामान आयातमा आजबाट रोक लगाएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल राजपत्रमा प्रकाशन गरेको विवरण अनुसार मोटरसाइकल, मोबाइल सेट लगायत सामाग्री नेपाल भित्राउन रोक लगाइएको हो । 

जसमा ६ सय अमेरिकी डलर भन्दा बढी मुल्यका मोबाइल सेट, ३२ इन्च भन्दा माथिका रङ्गीन टेलिभिजन, जीप कार र भ्यानसहितका सवारी साधान, २ सय ५० सिसि माथिका मोटरसाइकल छन् । त्यस्तै सबै प्रकारका तयारी मदिरा, कुरकुरे, लेज लगायत खानेकुरा, चुरोट तथा सुर्तिजन्य वस्तु, तास र खेलौनाको आयातमा रोक लगाइएको छ । चुरोट तथा सुर्तिजन्य वस्तु र हिराको औद्योगिक कच्चा पदार्थ आयात गर्न भने पाइने छ ।

मन्त्रालयले नेपालस्थित कुटनीतिक नियोगले आफ्नै प्रयोजनका लागि भने यी सामानहरु ल्याउने सक्ने जनाएको छ । त्यस्तै हिजोसम्म बैकिङ प्रक्रिया पुरा गरीसकेका वस्तुहरु भने आयात गर्न पाइने छ । उच्च आयातका कारण कुल विदेशी विनिमय सञ्चितीमा दबाब पर्दै गएपछि सरकारले आयातमा कडाइ गरेको हो । 


प्रतिक्रिया