पर्सामा धान उत्पादन घट्यो

पुस ६, २०७९ | पर्सा

पर्सामा यस वर्ष धानको उत्पादन घटेको छ । कृषि ज्ञान केन्द्र पर्साको तथ्यांक अनुसार, यस वर्ष जिल्लामा ४७ हजार १ सय ३० हेक्टर जग्गामा धान खेती भएकोमा प्रति हेक्टर ४ दशमलव ७ मेट्रिक टनको दरले २ लाख २१ हजार ६ सय २७ मेट्रिक टन मात्रै उत्पादन भएको छ ।

गत वर्ष जिल्लामा ४७ हजार १ सय ३० हेक्टर जग्गा धान खेती भएकोमा प्रति हेक्टर ४ दशमलव ९४ मेट्रिक टनको दरले कुल २ लाख ३३ हजार १ सय १५ मेट्रिक टन उत्पादन भएको थियो । तुलनात्मक रुपमा यस वर्ष ११ हजार ५ सय ८ मेट्रिक टन धान कम उत्पादन भएको छ । 

चैते धानको उत्पादन बढेको छ भने भदैया र अगहनी (वर्षे) धानको उत्पादन घटेको छ । कार्यालयको तथ्यांक अनुसार यस वर्ष जिल्लामा ३ हजार ५ सय ५० हेक्टरमा प्रति हेक्टर ५ दशमलव ५ मेट्रिक टनको दरले १९ हजार ५ सय २५ मेट्रिक टन चैते धान उत्पादन भएको छ ।

गत वर्ष ३ हजार ५ सय ५० हेक्टरमा प्रति हेक्टर ५ दशमलव ३ मेट्रिक टनको दरले १८ हजार ८ सय १५ मेट्रिक टन चैते धान उत्पादन भएको थियो । त्यसैगरी, यस वर्ष ८ हजार ५ सय ६० हेक्टरमा प्रति हेक्टर ५ दशमलव २ मेट्रिक टनको दरले ४४ हजार ५ सय १२ मेटन भदैया धान उत्पादन भएको छ ।

गत वर्ष ८ हजार ५ सय ६० हेक्टरमा भदैया धान खेती गरिएकोमा प्रति हेक्टर ५ दशमलव ४ मेट्रिक टनको दरले ४६ हजार २ सय २४ मेट्रिक टन उत्पादन भएको थियो । यस वर्ष ३५ हजार २० हेक्टरमा अगहनी (वर्षे) धान खेती गरिएकोमा प्रति हेक्टर ४ दशमलव ५ मेटनको दरले १ लाख ५७ हजार ५ सय ९० मेटन उत्पादन भएको छ । 

गत वर्ष ३५ हजार २० हेक्टरमा प्रति हेक्टर ४ दशमलव ८ मेटनको दरले १ लाख ६८ हजार ९६ मेटन अगहनी धान उत्पादन भएको थियो । केन्द्रका बाली विकास अधिकृत सुरेश चौरसियाले ढिलो गरी रोपाई हुनु तथा मलको अभाव र सिंचाईको अनिश्चितताको कारण यस वर्ष भदैया र अगहनी दुबै धानको उत्पादन कम हुन गएको बताउनुभयो । ‘बालीलाई सिंचाई चाहिएको अन्तिम समयमा मौसमी वर्षाले केही राहत दिएहो हो,’ उहाँले भन्नुभयो, ‘नत्र दुबै धानको उत्पादनमा झनै गिरावट आउथ्यो ।’


प्रतिक्रिया