वीरगञ्जका दुबै भन्सारको राजश्व असूली निराशाजनक

पुस ६, २०७९ | पर्सा

वीरगञ्जका दुबै भन्सार कार्यालयको राजश्व असूली निराशाजनक अवस्थामा पुगेको छ । वीरगञ्ज र सिर्सिया सुक्खा बन्दरगाह भन्सार कार्यालयको राजश्व असूली नाजुक देखिएको हो । सामान्य अवस्थामा यी भन्सारले लक्ष्य भन्दा बढी वा लक्ष्यको हाराहारीमा राजश्व संकलन गर्दै आएका थिए । 

चालू आर्थिक वर्षमा भने दुबै भन्सार कार्यालयलाई लक्ष्यको नजिक पुग्न पनि हम्मे हम्मे परेको छ । दुबै भन्सारको राजश्व असूली आयातमुखी भएको र हाल समग्रमै आयात घट्न गएकाले त्यसको असर राजश्व असूलीमा प्रत्यक्ष रुपमा देखिएको हो । गत आर्थिक वर्षमा भने वीरगञ्ज भन्सारले वार्षिक राजश्व असूली लक्ष्य भेट्टाएको थियो भने सिर्सिया सुक्खा बन्दरगाह भन्सार कार्यालय असफल भएको थियो । 

वीरगञ्ज भन्सार कार्यालयको तथ्यांक अनुसार चालू आर्थिक वर्षको मंसिरमा यो भन्सारले मासिक लक्ष्यको जम्मा ५० प्रतिशत मात्र राजश्व असुली गर्न सकेको छ । मंसिरमा २१ अर्ब ६९ करोड ४२ लाख ४५ हजार रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य पाएको सो भन्सारले १० अर्ब ९० करोड ६० लाख ५७ हजार रुपैयाँ मात्र संकलन गर्न सक्यो । 

त्यसैगरी, चालू आर्थिक वर्षको ६ महिना अर्थात मंसिर सम्ममा ९९ अर्ब ७२ करोड ७१ लाख ५४ हजार रुपैयाँ राजश्व असूलीको लक्ष्य पाएको यो भन्सारले ६३ अर्ब ४५ करोड ७० लाख २६ हजार रुपैयाँ मात्र संकलन गर्न सकेको छ । जुन लक्ष्यको ६४ प्रतिशत मात्र हो । जबकी चालू आवका लागि यो भन्सारले २ खर्ब ६० अर्ब ९७ करोड २० लाख ८ हजार रुपैयाँ राजश्व असूलीको लक्ष्य पाएको छ । 

यता सिर्सिया सुक्खा बन्दरगाह भन्सारको राजश्व असूली वीरगञ्ज भन्सारको तुलनामा केही बढी रहेपनि त्यो पनि धेरै उत्साहजनक भने छैन । मंसिरमा यो भन्सारले लक्ष्यको ६४ दशमलव ९३ प्रतिशत मात्र राजश्व असूली गर्न सक्यो । यस महिनामा ५ अर्ब ५१ करोड ४२ लाख ३८ हजार रुपैयाँ राजश्व असूलीको लक्ष्य पाएको यो भन्सारले ३ अर्ब ५८ करोड ५ लाख ७१ हजार रुपैयाँ मात्र राजश्व संकलन गर्न सक्यो । 

त्यसैगरी, मंसिरसम्ममा २६ अर्ब १९ करोड ६२ लाख ७६ हजार रुपैयाँ राजश्व असूलीको लक्ष्य रहेकोमा ६९ दशमलव ४५ प्रतिशत अर्थात १८ अर्ब १९ करोड ४४ लाख ३४ हजार रुपैयाँ मात्र असूली भएको छ ।

वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकृत डिल्ली सुवेदीले गत आर्थिक वर्ष भन्दा यस वर्षको राजश्व असूली लक्ष्य नै बढी भएको र आयात घटेकाले राजश्व संकलन प्रभावित भएको बताउनुभयो । उहाँका अनुसार यस बाहेक कतिपय वस्तुको आयातमा प्रतिबन्ध तथा एलसी खोल्नमा कडाइ पनि राजश्व असूली घटनुको प्रमुख कारण हो । 

सिर्सिया सुक्खा बन्दरगाह भन्सार कार्यालयका सूचना अधिकृत सन्तोष कुमार न्यौपानेका अनुसार समग्रमा आयात घटनु, राजश्वमा बढी योगदान गर्ने वस्तु मदिराको आयातमा प्रतिबन्ध र तयारी वस्तु, बिस्कुट, चकलेट जस्ता वस्तुको आयात घट्दा राजश्व असूली प्रभावित हुन गएको हो । 

सरकारले मदिरा, मोबाइल, गाडीको आयात खुला गरेपनि आयातकर्ताले एलसी खोलेर आयात गर्न अझै समय लाग्ने भएकाले आगामी २ महिना यस्तै अवस्था हुने उहाँको भनाई छ । ‘प्रतिबन्धित वस्तुको आयात खुल्यो तर प्रकृया पूरा गरेर ती वस्तु आयात गर्न अझै २ महिना लाग्न सक्छ,’ न्यौपानेले भन्नुभयो, ‘त्यस कारण राजश्व असूलीको गति पुरानै लयमा फर्किन कम्तीमा २ महिना कुर्नै पर्छ होला ।’


प्रतिक्रिया