गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको वातावरण बनाउन माग

चैत्र २६, २०८१ | तिलोत्तमा

भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालनको वातावरण बनाउन रुपन्देहीका निजी क्षेत्रका संघसंस्थाले माग गरेका छन् । नेपाल चेम्बर अफ कमर्स लुम्बिनी प्रदेश, उद्योग वाणिज्य महासंघ, लुम्बिनी प्रदेश उद्योग परिसंघ, र नेपाल घरेलु तथा साना उद्योग महासंघ लुम्बिनी प्रदेशले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालनको वातावरण बनाउन माग गरेका हुन् । 

चेम्बर लुम्बिनी प्रदेशका अध्यक्ष टंक प्रसाद पोखरेल, महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण प्रसाद शर्मा, परिसंघका अध्यक्ष एजाज आलम र नेपाल घरेलु तथा साना उद्योग महासंघ, लुम्बिनी प्रदेशका अध्यक्ष गणेश प्रसाद अधिकारीले सोमबार संयुक्त विज्ञप्ति जारी गर्दै विभिन्न बहानामा व्यवसायीलाई पटकपटक निराशा बनाउने काम भइरहेको गुनासो गर्नु भएको छ । 

यस क्षेत्रको अर्थतन्त्रको मेरुदण्डको रूपमा स्थापना भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको गति देख्दा आम नागरिक, उद्योगी–व्यवसायी लगायत सबै पक्षमा निराशा छाएको विज्ञप्तिमा उल्लेख गरिएको छ । ‘केही अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले नियमित यात्रु पाउँदा पाउँदै पनि उडान कटौती गरेको विषय सुन्नमा आएको छ । यसको कारण के हो ? त्यस्ता उडानलाई नियमित गर्न निजी क्षेत्रकातर्फबाट पनि हामी सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउंदै विमानस्थल नियमित सञ्चालनको वातावरण बनाउन माग गर्दछौं,’ संयुक्त हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ ।

उडान कटौती गरिरहेको वायुसेवा कम्पनीलाई पुनः फर्काउने वातावरण बनाउन भैरहवा हुँदै अन्तर्राष्ट्रिय उडानमा जाने यात्रुको सुविधाका लागि आकर्षक प्याकेज सहितका सेवा सुविधाको व्यवस्था मिलाउन र श्रम लगायत कार्यालयको स्थापना गर्न सरकार समक्ष संस्थाहरुले माग राखेका छन् । 

अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सुरु भएसँगै सरकारकै आह्वानमा उद्योगी–व्यवसायीले अर्बौं रुपैयाँ लगानी गरेर प्रतिफलको अपेक्षा गरिरहेको उनीहरुले बताएका छन् । ‘यो बीचमा विमानस्थल सञ्चालन हुने केही संकेत देखिएपछि व्यवसायी उत्साहित मात्र भएनन् बैंकबाट ऋण लिएर थप लगानी समेत गरेर बसेका छन्, ’विज्ञप्तिमा भनिएको छ । 

विमानस्थल उद्घाटन भएको दुई वर्ष पुगिसकेको र दुई वर्षको अवधिमा सरकारले विमानस्थल सञ्चालनका लागि केही प्रयास गरेपनि आधारभूत शर्तको रुपमा रहेको अन्तर्राष्ट्रिय विमानस्थलसँग सम्बन्धित आवश्यक कार्यालयको स्थापना गर्न नसेकेको जनाएको छ । 

निजी क्षेत्रले पटकपटक ध्यानाकर्षण गराउंदा पनि ती कार्यालयको स्थापना हुन नसक्नुको दुखद भएको निजी क्षेत्रले जनाएको छ । ‘कुन अदृश्य शक्तिले यस क्षेत्रको समृद्धिको आधारको रुपमा स्थापना भएको विमानस्थल सञ्चालनमा अवरोध सिर्जना गरिरहेको छ ? त्यस्ता अवरोधलाई छिचल्नका लागि निजी क्षेत्रकातर्फबाट सरकारलाई के कस्तो सहयोगको आवश्यकता पर्ने हो ? आम उद्योगी व्यवसायी तथा सर्वसाधारणको तर्फबाट वर्तमान सरकारसमक्ष हामी यो प्रश्न सोध्न चाहन्छौं, ’विज्ञप्तिमा भनिएको छ ।


प्रतिक्रिया