२० औँ फेवा महोत्सव आजदेखि

चैत्र ३०, २०८१ | पोखरा

पर्यटकीय शहर पोखरामा २० औँ फेवा नव वर्ष महोत्सव–२०८२ आयोजना गरिएको छ । होटल संघ पोखराले आयोजना गरेको फेवा महोत्सव आगामी बैशाख १ गतेसम्म चल्नेछ । फेवा महोत्सव अवधिभर पोखरामा आउने पर्यटकका लागि लक्षित गरी होटलले २० प्रतिशत छुट गर्ने भएका छन् । 

महोत्सवमा गण्डकी प्रदेशका ११ जिल्लाका मौलिक संस्कृतिको प्रस्तुति रहने आयोजकले जनाएको छ । होटल संघ पोखराका अध्यक्ष एवं महोत्सवका संयोजक लक्ष्मण सुवेदीले महोत्सवमा यसपटक भक्तपुरको विस्केट जात्रा विशेष आकर्षणको रुपमा रहने जानकारी दिनुभयो । 

बाजा, भजन र रत्यौलीका कार्यक्रम पनि महोत्सवमा समेटिने संघले जनाएको छ । पर्यटन, संस्कृति र खाना फेवा महोत्सवको मुख्य आकर्षण रहने छन् । महोत्सवका अवसरमा संघ अन्तर्गतका सदस्य होटलले आफ्नो प्रकाशित दररेटमा २० प्रतिशत छुट प्रदान गर्ने छन् । 

अहिले पोखराका होटलमा पर्यटकको अकुपेन्सी ६० प्रतिशत रहेको र महोत्सवका अवसरमा यो ९० प्रतिशत पुग्ने संघका अध्यक्ष सुवेदीले जानकारी दिनुभयो । प्रदेशस्तरीय मौलिक तथा रैथाने परम्परागत खानाको प्रदर्शन, सांस्कृतिक कार्यक्रमको प्रस्तुति, मनोरञ्जनात्मक खेलकुद कार्यक्रम र पर्यटक दौड प्रतियोगिता महोत्सवका आकर्षण रहने छन् । 

पोखराको खहरेचोकदेखि ड्यामसाइड वीचको तीन किलोमिटर सडकमा आयोजना गरिने सो महोत्सवमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । पर्यटन, संस्कृति र खाना फेवा महोत्सवको मुख्य आकर्षण रहने छन् ।

व्याडमिन्टन कप प्रतियोगिता यसपटकको नयाँ आकर्षणको रूपमा रहेको छ । लोक दोहोरी कार्यक्रम पनि महोत्सवमा प्रस्तुत हुने छ । महोत्सवको प्रवर्द्धकमा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश र पोखरा महानगरपालिका रहेका छन् ।


प्रतिक्रिया