राहुल गान्धी भारतीय लोकसभाको विपक्षी दलको नेतामा चयन

असार १२, २०८१ | काठमाडौं

भारतीय राष्ट्रिय कांग्रेसका नेता राहुल गान्धी लोकसभामा विपक्षी नेता चुनिनुभएको छ । भारतीय लोकसभामा १० वर्षपछि कांग्रेसले विपक्षी दलको नेताको हैसियत पाएको हो ।

लोकसभामा प्रतिपक्षीका रुपमा पहिलो पटक सम्बोधन गर्दै गान्धीले सरकारसँग राजनीतिक शक्ति भएपनि आफू विपक्षी दल भएका हैसियतले भारतीय जनताको आवाजको प्रतिनिधित्व गर्ने बताउनुभयो ।

उहाँले विपक्षीलाई समेत संसदमा आफ्नो धारणा राख्न अवरोध नगर्ने विश्वास व्यक्त गर्नुभयो । यसअघिका २ चुनावमा कांग्रेसले संसद्को १० प्रतिशत सिट जित्न सकेको थिएन ।

सन् २०१४ मा ४४ र २०१९ मा ५२ सिट जितेको कांग्रेसले यसपल्ट भने ९९ सिट जित्न सफल भएको हो । सन् २००४ देखि लगातार ५ पल्ट सांसद चुनिएका राहुल गान्धीले यसअघि कांग्रेस प्रमुखबाट राजीनामा दिनुभएको थियो ।  


प्रतिक्रिया