डोनल्ड ट्रम्पद्वारा रुस र युक्रेनका राष्ट्रपतिसँग छुट्टा–छुट्टै टेलिफोन संवाद

फाल्गुन १, २०८१ | काठमाडौं

रुस–युक्रेन युद्ध अन्त्यको पहल स्वरुप अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले दुई देशका राष्ट्रपतिसँग टेलिफोन संवाद गर्नुभएको छ ।

ट्रम्पले रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग छुट्टा–छुट्टै टेलिफोन संवाद गर्नुभएको हो । संवादपछि दुवै मुलुकले युद्ध अन्त्य गर्न चाहेको बताएको अमेरिकाको राष्ट्रपति कार्यालय ह्वाइट हाउसकी प्रवक्तालाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यामले जनाएका छन् । 

दुवै पक्षसँगको वार्ता सकारात्मक रहेको समेत ह्वाइट हाउसले जनाएको छ । रुसका राष्ट्रपति पुटिनसँग करीब डेढ घण्टा र युक्रेनमा राष्ट्रपति जेलेन्स्कीसँग १ घण्टा संवाद भएको बताइएको छ । पुटिनले समकक्षी ट्रम्पलाई मस्को भ्रमणका लागि आमन्त्रण गर्नुभएको छ । 

ट्रम्पले साउदी अरेबियामा छिट्टै रुससँग वार्ताकालागि पहल गर्ने बताएको अन्तर्राष्ट्रिय सञ्चार माध्यामले जनाएका छन् । उता, युक्रेनसँग अमेरिकाका उपराष्ट्रपति जेडी भान्स तथा विदेशमन्त्री मार्को रुबियो लगायत प्रतिनिधिले यही शुक्रबार वार्ता गर्ने तय भएको छ ।


प्रतिक्रिया