झापाका संक्रमित सवै पुरुष

तस्बिर : अर्जुन राजवंशी, रेडियो कान्तिपुर ।  

जेष्ठ २४, २०७७ | बिर्तामोड

झापामा पुरुषमा मात्र कोरोना भाइरसको संक्रमण देखिएको छ । जिल्ला स्वास्थ्य कार्यालयकाअनुसार शुक्रबारसम्म संक्रमण पुष्टि भएका सबै १ सय ३६ जना पुरुष मात्र रहेका छन् ।

जिल्लामा करीब ५ हजार जनाको स्वास्थ्य परीक्षण गरिएको छ । उनीहरुमध्ये ३ हजार २२ जनाको पीसीआर तथा एक हजार ९ सय ४५ जनाको र्‍यापिड डायग्नोष्टिक टेस्ट (आरडीटी) विधिबाट स्वास्थ्य परीक्षण गरेको स्वास्थ्य कार्यालयका फोकल पर्सन जीवन चम्लागाईले जानकारी दिनुभयो । उहाँअनुसार २ हजार ५ सय ४४ पुरुष तथा ४ सय ७८ जना महिलाको पीसीआर परीक्षण गरिएको छ । १ हजार ६ सय ५ पुरुष र ३ सय ४० जना महिलाको आरडीटी गरिएको छ । स्वास्थ्य परीक्षण गरिएपनि अहिलेसम्म महिलामा संक्रमण पुष्टि नभएको चम्लागाईले बताउनुभयो ।

जिल्लाको १५ मध्ये ९ पालिकामा संक्रमण पुष्टि भएको छ । एक जनाबाहेक सबै भारतबाट फर्किएकामा संक्रमण देखिएको हो । रोजगारीको सिलसिलामा भारतको मुम्बई, दिल्ली, केरला, उत्तर प्रदेशलगायत स्थानबाट फर्किएकामा संक्रमण देखिएको हो । सबैभन्दा बढी कचनकवल गाउँपालिकाका १ सय १३ जनामा संक्रमण पुष्टि भएको छ । उनीहरु सबै भारतबाट लुकीछिपी नेपाल भित्रिएका हुन् ।

संक्रमितमध्ये २२ जना उपचारपछि घर फर्किएका छन् । संक्रमण देखिन थालेपछि जिल्लामा पीसीआर परीक्षणलाई तीव्रता दिइएको छ । पालिका स्तरमा स्वाब नमुना संकलन गरि जिल्लाबाट दैनिक करीब दुई सय नमुना पीसीआर परीक्षणका लागि धरान र बिराटनगरका प्रयोगशालामा पठाउने गरेको चम्लागाईले बताए । अझै करीब ६ सय जनाको पीसीआर रिपोर्ट आउन बाँकी रहेको उनले बताए ।      


प्रतिक्रिया