सहिदको सम्मान कि अवमूल्यन ?

माघ १६, २०७७ | काठमाडौं

कवि भूपी शेरचनले कविता सहिदहरुको सम्झनामा त्यसै लेखेका हैनन–

‘हुँदैन बिहान मिर्मिरेमा तारा झरेर नगए

बन्दैन मुलुक दुई–चार सपूत मरेर नगए’

समयक्रमले मुलुकलाई यस्तो स्थितिमा उभ्याएको छ कि अब देश बनाउन सपूतको हैन कपूतहरुको मरण आवश्यक छ । किनभने सहिद कस्लाई भन्ने ? सटिक उत्तर भेट्न मुस्किल छ । 

देश वा लोकको स्वाधीनता, संस्कृति र स्वअस्तित्वको संरक्षण तथा स्वतन्त्रता प्राप्तिका निम्ति प्राणको आहुती दिनसमेत नहिच्किचाउने, मातृभूमिप्रति सदा सचेत र समर्पित हुनेहरू नै वास्तविक सहिद हुन् । तर, अहिले सहिद पनि विभिन्न प्रकारमा विभक्त छन् । ६२/६३ अघिसम्म १९९७ माघमा राणाशासकद्वारा मारिएका चार जना शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गंगालाल श्रेष्ठलाई वास्तविक सहिदका रुपमा चिनिन्थ्यो । राणाशासनको विरोध गरेका कारण माघ १० गते शुक्रराजलाई टेकुको खरीको रुखमा र १३ गते धर्मभक्तलाई सिफलमा झुन्ड्याएर मारिएको थियो भने दशरथ र गंगालाललाई माघ १५ गते शोभाभगवती मन्दिर किनारमा गोली हानिएको थियो । मातृभूमि र लोकको हितका खातिर ज्यान उत्सर्ग गर्ने उनै चारजनाको सम्मानका खातिर माघ १० देखि १६ गतेसम्म सहिद सप्ताह पनि मनाईंदै आएको छ ।

नेपालको पहिलो सहिद लखन थापालाई मानिन्छ । पल्टनका लाहुरे थापालाई जंगबहादुर राणाविरुद्ध प्रचारबाजी गरेको आरोपमा वि.सं. १९३३ मा गोरखाको मनकामना मन्दिरअगाडि रूखमा झुन्ड्याएर मारिएको इतिहास छ । मुलुकमा सहिद दिवस मनाउने चलन धेरैपछि मात्रै शुरु भयो । २०१२ साल माघ १६ गतेबाट मात्रै सहिद दिवस मनाउन थालियो । १९९७ सालमा मृत्युदण्ड घोषणा हुनेमा चार सहिदबाहेक टङ्कप्रसाद आचार्य पनि थिए । तर, राणाशासकले ब्राम्हण हत्याको अभिसाप लिन चाहेनन् र उनलाई चारपाटा मुडेर जेल हालिदिए । अनि उनी जिउँदो सहिदको नामले परिचित भए । पछि उनै टंकप्रसाद आचार्य मुलुकको १९ औं प्रधानमन्त्री बन्दा २०१२ माघ १३ गतेको मन्त्रिपरिषद बैठकले माघ १६ लाई सहिद दिवस मनाउने निर्णय गरेको हो ।

खासमा राष्ट्र र जनताका लागि योगदान गर्दागर्दै सहादत गरेका व्यक्तिलाई मात्रै सहिदको सूचीमा समावेश गरिनुपर्ने हो । तर, दलीय स्वार्थका आन्दोलन, अज्ञात समूहका आक्रमण तथा हत्या, सवारी दुर्घटनालगायतबाट ज्यान गुमाएकालाई पनि सहिद घोषणा गरिएपछि देश र जनताका हक-अधिकारका लागि लडेका वास्तविक सहिदको अवमूल्यन भइसकेको छ ।

कसलाई सहिद भन्ने ? यसबारे मतऐक्यता नभएपछि पूर्वमन्त्री मोदनाथ प्रश्रितको अध्यक्षतामा कार्यदल पनि गठन भएको थियो । आफू मर्छु भन्ने जान्दाजान्दै होमिएका, मर्छु भन्ने नलागी होमिएका र आर्थिक लाभ केन्द्रित भएका गरी सहिदलाई तीन प्रकारको सूचीमा राख्नुपर्ने सुझावसहित प्रतिवेदन कार्यदलले बुझायो । सो प्रतिवेदन अझै पनि गुपचुप छ । कार्यदलले जथाभावी सहिद घोषणा रोक्नुपर्ने सुझाव पनि र्दिपनि अझै पालना हुन सकेको छैन ।

सहिद सजिलो रूपबाट हुने व्यक्ति होइन । सहिद हुन धेरै ठूलो त्याग चाहिन्छ । इतिहासलाई, हिजोको कुरालाई, हिजोको घटनालाई आजको परिप्रेक्षमा हेरेर मूल्याङ्कन गर्याैं भने गलत हुन्छ । त्यसैले इतिहासका कुराहरूलाई हिजोकै परिस्थितिमा आधार बनाएर मूल्याङ्कन गरिनुपर्छ । अहिले सहिदको हकमा पनि इतिहासलाई वर्तमानसँग तुलना गर्ने काम भइरहेको छ । अचले मुलुक र जनताका साझा सहिद हैन पार्टीका सहिद हुन थालेका छन् । पार्टीगत आवद्धताका आधारमा सहिद बनाएर लाखौं रूपैयाँ बाँड्ने काम मात्र भएको छ । यस्ता कामले सहिदको मूल्याङ्कन र सम्मान हैन बरु अवमूल्यन मात्र हुन्छ ।

अचेल सहिदलाई सम्झन पनि माघ १६ नै पर्खिनुपर्ने अवस्था आइसकेको छ । उनीहरूको भावना, उनीहरूको पवित्रता, उनीहरूले के कुराका लागि सङ्घर्ष र जीवन उत्सर्ग गरेका हुन् र जनताका लागि के कुराको अपेक्षा गरेका थिए ? यी सबलाई वर्तमानमा अवलम्बन गर्न सकियो कि सकिएन भन्नेर चिन्तन गर्नुपर्छ । सहिदको र सरकार अनि राजनीतिक दलको बेग्लै दृष्टिकोण हुँदा पनि समस्या छ । सहिदहरुले एउटा सपना देखेका थिए, तर उनीहरुको सपनालाई साकार पार्ने त कता हो कता त्यो सपनामा हिंड्ने दृष्टिकोण पनि राज्य र राजनीतिक नेतृत्वमा छैन ।

त्यसैले त अहिले अवस्था कवि अर्जुन पराजुलीले लेखेजस्तै छ

सहिद

तिनीहरुका देशमा पनि छन्

सहिद मेरो देशमा पनि छन्

तिनीहरुका देशमा

सहिदका सपना साकार पार्न

नेताले आफ्ना सपनलाई रुखमा झुन्डाउँछन्

मेरो देशमा

आफ्ना सपना साकार पार्न

नेताले सहिदका सपनालाई रुखमा झुन्डाउँछन् 


प्रतिक्रिया