एमालको कार्यदल बैठक आज पनि

असार २५, २०७८ | काठमाडौं

पार्टीको आन्तरिक विवाद मिलाउने प्रयासमा जुटेको एमालेको कार्यदलको बैठक आज पनि बस्दैछ । सिंहदरबारमा बिहान साढे ११ बजे बस्ने बैठकमा सहमति हुन बाँकी विषयमा छलफल हुने कार्यदलले जनाएको छ ।

आजको बैठक सहमतिसहित निष्कर्षमा पुग्ने अध्यक्ष केपी शर्मा ओलीतर्फका कार्यदल संयोजक सुवास नेम्वाङले जानकारी दिनुभयो । पार्टीभित्रको विवाद मिलाउन कार्यदल केही दिनयता सक्रिय भएपनि ठोस निष्कर्षमा पुग्न भने अझै सकेको छैन । 

अध्यक्ष ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच अस्ती साँझ भेटवार्ता भएपछि हिजो बिहान बसेको बैठकमा कार्यदलका सदस्यहरुले साँझसम्म सहमति हुने दाबी गरेका थिए । हिजो साँझको बैठकमा कार्यदल सदस्य विष्णु पौडेल अनुपस्थित भएपछि छलफलले सार्थकता पाउन नसकेको हो । नेता नेपाल पक्षका कार्यदल सदस्य घनश्याम भुषालले भने १० दिनयता कुनै प्रगति नभएको बताउनुभएको छ । 

अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच गत जेठ २ गतेको सहमतिका आधारमा गठित १० सदस्यीय कार्यदलले काम गरिरहेका बेला गत जेठ ८ गते दोस्रो पटक प्रतिनिधि सभा विघटन भएपछि एमालेमा विवाद बल्झिएको थियो । त्यसयता निश्क्रिय जस्तै बनेको कार्यदल गत सोमबारदेखि पार्टीको विवाद समाधान गर्न घनिभूत तरिकाले लागि परेको छ । पावर सेयरिङ लगायत विषयमा दुबै पक्ष अडानमा रहँदा छलफलले सार्थकता पाउन सकेको छैन । 


प्रतिक्रिया