महाराष्ट्रमा भएको रेल दुर्घटनामा तीन जना महिला र एक बालकसहित ७ जना नेपालीको मृत्यु

माघ ११, २०८१

भारतको महाराष्ट्र राज्यमा गत बुधवारको रेल दुर्घटनामा तीन जना महिला र एक बालकसहित ७ जना नेपालीको मृत्यु भएको पुष्टि भएको छ । परराष्ट्र मन्त्रालयले दुर्घटनामा मृत्यु भएका सातै जनाको नाम सार्वजनिक गरेको छ । दुर्घटनामा अछामका ४ जना, कैलालीका २ जना र बाँकेका एक जनाको मृत्यु भएको हो । मन्त्रालयका अनुसार, अछामका ११ बर्षीय हिमु नन्दराम विश्वकर्मा, ४४ बर्षीय नन्दराम पद्य विश्वकर्मा, ४२ बर्षीया मैसारा कामी विश्वकर्मा र ६० बर्षीया कला कामीको मृत्यु भएको छ । 

त्यस्तै, कैलालीकी ४३ बर्षीया कमला नवीन भण्डारी र ४० बर्षीय लछिराम पासी तथा बाँकेका ३२ बर्षीय राधेश्याम राधको मृत्यु भएको मन्त्रालयले जनाएको छ । परराष्ट्र मन्त्रालयका अनुसार दुर्घटनामा अन्य ४ जना नेपाली घाइते भएका छन् । घाइतेमध्ये ३ जनाको स्थानीय अस्पताल र १ जनाको गम्भीर अवस्थामा जलगाउँस्थित गोदावरी अस्पतालमा उपचार भइरहेकोे छ । घाइतेहरुको नाम भने खुलाइएको छैन । मन्त्रालयले मृतकको शव नेपाल ल्याउन तथा घाइतेहरूको शीघ्र उपचारका लागि नयाँ दिल्लीस्थित नेपाली दूतावास र काठमाडौँस्थित भारतीय दूतावासमार्फत समन्वय गरिएको बताएको छ ।

गत बुधवार साँझ महाराष्ट्र राज्यको जलगाउँ जिल्लास्थित स्टेसननजिकै रेल दुर्घटना भएको थियो । उक्त दुर्घटनामा नेपालीबाहेक अन्य ५ जनाको पनि मृत्यु भएको थियो ।


प्रतिक्रिया