स्पेनिस ला लिगामा बार्सिलोनाको शानदार जित

माघ १४, २०८१ | काठमाडौं

बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलमा कमजोर भ्यालेन्सियामाथि शानदार जित निकालेको छ । बार्सिलोनाले घरेलु मैदानमा गएराति भएको खेलमा पाहुना टोली भ्यालेन्सियालाई ७–१ गोलको फराकिलो अन्तरले पराजित गरेको हो । 

यो जितसँगै बार्सिलोना फेरि लिगको उपाधि होडमा सामेल भएको छ भने चार खेलको जितविहीन यात्रामा पूर्णविराम लगाएको छ । खेल सुरु भएको दोस्रो मिनेटमा फ्रेन्की डे जोङले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए । 

घरेलु टोलीको जितमा खेलको पहिलो हाफमा फेरमिन लोपेजले दुई गोल गरे । त्यसपछि फेरान टोरेस र राफिन्हाले एक–एक गोल गरेपछि बार्सिलोनाले पहिलो हाफमा पाँच गोलको अग्रता लिएको थियो । 

खेलको ५९ औं मिनेटमा भ्यालेन्सियाका लागि ह्युगो डुरोले एक गोल फर्काए । त्यसपछि ६६ औं मिनेटमा रोबर्टो लेवनडोस्कीले बार्सिलोनाका लागि थप एक गोल गरे । घरेलु टोलीले एक गोल भने उपहार रुवरुप पाएको थियो । 

खेलको ७५ औं मिनेटमा सेजर तरेगाले आत्मघाती गोल गरे । यो जितपछि बार्सिलोना २१ खेलबाट ४२ अंकका साथ तालिकाको तेस्रो स्थानमा रहेको छ । बार्सिलोना शीर्ष स्थानमा रहेको रियल म्याड्रिडसँग सात अंकले पछाडि छ । 

बार्सिलोनाले दोस्रो स्थानको एटलेटिको मड्रिडसँगको अंक दूरी ३ अंकमा सीमित गरेको छ । दोस्रो स्थानमा रहेको एटलेटिको म्याड्रिडको ४५ अंक रहेको छ । पराजित भ्यालेन्सिया भने समान २१ खेलमा ३ जितसहित १६ अंक जोडेर पुछारबाट दोस्रो स्थानमा रह्यो ।


प्रतिक्रिया