स्वच्छ र भयरहित निर्वाचन गराउन राष्ट्रपति भण्डारीको आग्रह

चैत्र १४, २०७८ | कास्की

राष्ट्रपति विद्यादेवी भण्डारीले आसन्न स्थानीय तहको निर्वाचन स्वच्छ र भयरित वातावरणमा सम्पन्न गर्न आग्रह गर्नु भएको छ । आइतबार पोखरामा आयोजित न्यायिक समितिको प्रथम राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले आ–आफ्नो क्षेत्रबाट उत्साहपूर्ण रुपमा सहभागी भई निर्वाचन सम्पन्न गर्न पनि अनुुरोध गर्नुभयो । 

निर्वाचनलाई स्वच्छ बनाउन सम्बन्धित पक्षको पनि ध्यानाकर्षण गराउने उहाँको भनाई छ । राष्ट्रपति भण्डारीले जनताको आकांक्षा अनुसार काम गर्न सके मात्र समृद्ध मुलुक निर्माण हुने भन्दै जनताका समस्या, खानेपानी, बिजुली, बाटो जस्ता अत्यावश्यक सुविधालाई प्राथमिकता राख्नुपर्ने बताउनुभयो । 

उहाँले स्थानीय तहका पदाधिकारीलाई प्रकृतिको संरक्षण गर्दै काम गर्नुपर्ने सुझाउनुभयो । ‘प्रकृतिलाई बिगारेर होइन, श्रृंगारेर अघि बढ्नुपर्छ,’ उहाँले भन्नुभयो, ‘स्थानीय तहमा वन क्षेत्रको संरक्षण जरुरी छ । पानीका मुल जोगाउन, भू–क्षय रोक्न, बहुउपयोगी बिरुवा रोप्नका लागि अभियान सञ्चालन गर्नुपर्छ ।’ 

जनताको न्याय सम्पादन र विकास कार्यमा हातेमालो गर्दै न्यायिक समितिका ५ वर्ष बितेको भन्दै उहाँले पुन: जनता समक्ष जान सशक्त बनेको बताउनुभयो । अनुभवले तिखारिदै पुन: स्थानीय तहको नेतृत्वमा पुग्न विगतको ५ वर्षले मद्दत पुर्‍याएको उहाँको तर्क थियो । राष्ट्रपति भण्डारीले संघ र प्रदेशका नीति तथा कार्यक्रम कार्यान्वयन गर्ने प्रमुख अंग नै स्थानीय सरकार रहेको बताउनुभयो । 

स्थानीय तहमा विषय विज्ञ, इजलास जस्ता संरचना बनाउन, प्रहरी, प्रशासन र अदालतबाट सहयोग प्राप्त भएको भन्दै राष्ट्रपति भण्डारीले न्यायिक समितिको कार्यालय व्यवस्थापनको लागि सम्बन्धित पक्षको ध्यानाकर्षण गराउने बताउनुभयो । 

न्यायिक समितिका कारण महिला, विपन्न वर्गका व्यक्ति, सिमान्तकृत, दलित, जनजाति लगायतको पहुँच बढेको उहाँको भनाई थियो । संघीय लोकतान्त्रिक शासन प्रणालीमा महिला न्यायाधीश बनेर पीडितलाई न्याय अनुभूति दिलाउने र दोषीलाई सजाय दिलाउँदा ५ वर्ष सहजै बितेको उहाँले उल्लेख गर्नुभयो । 


प्रतिक्रिया