एकीकृत समाजवादीको केन्द्रीय महाधिवेशन आजबाट सुरु

असार १६, २०८१ | काठमाडौं

एमालेबाट विभाजित भएपछि गठित एकीकृत समाजवादीको केन्द्रीय महाधिवेशन काठमाडौंमा सुरु भएको छ ।

एकीकृत समाजवादी नेतृत्व चयनसहित आगामी कार्यदिशाको टुंगो लगाउन महाधिवेशनमा होमिएको हो । एमाले परित्याग गर्दै नयाँ कम्युनिष्ट पार्टीको रुपमा स्थापित एकीकृत समाजवादीले तीन बर्षपछि पहिलो महाधिवेशन गरेको हो ।

महाधिवेशन उद्घाटन समारोहमा बोल्दै पार्टी अध्यक्ष माधवकुमार नेपालले एमाले परित्याग गर्नुको औचित्य पुष्टि भएको बताउनुभएको छ । संविधानको रक्षा गरेपछि आफूहरुको विद्रोहको औचित्य देखिएको उहाँको भनाई छ ।

एमाले अध्यक्ष केपी ओलीले आन्तरिक विवाद चर्किदै गएपछि दोस्रो पटक संसद विघटन गरेपश्चात् नेता नेपालको अगुवाइमा एकीकृत समाजवादी गठन गरिएको थियो । ५ दलीय गठबन्धनमा रहेर चुनाव लडेपनि राष्ट्रिय पार्टी बन्न नसकेको एकीकृत समाजवादी र एमालेबीचको तिक्तता भने अझै अन्त्य हुन सकेको छैन ।

एकीकृत समाजवादीको महाधिवेशनमा एमाले नेता सहभागी नहुनुले त्यसलाई पुष्टि गरेको छ । एमाले अध्यक्ष ओलीलाई निम्तो गरेपनि महाधिवेशनको उद्घाटन समारोहमा सहभागी नभएको सो पार्टीका अध्यक्ष नेपालको भनाइ छ ।

एकीकृत समाजवादीको महाधिवेशन उद्घाटन समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल, कंग्रेस सभापति शेरवहादुर देउवा, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने लगायत दलका नेता भने सहभागी भएका थिए ।

उद्घाटन समारोह सकिएपछि भोलिबाट महाधिवेशन अन्य बिषयमा प्रवेश गर्ने भएको छ । महाधिवेशनमा राजनीतिकसहित चार वटा प्रतिवेदन पेश हुने सो पार्टीले जनाएको छ । एकीकृत समाजवादीले नेपाली विशेषतासहितको समाजवाद शीर्षकको कार्यक्रम अघि सारेको छ ।

महाधिवेशनले अध्यक्षसहित २१ पदाधिकारी, २ सय ९९ सदस्यीय केन्द्रीय समिति चयन गर्नेछ । काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा शुरु भएको महाधिवेशनमा १ हजार ८ सय भन्दा बढी प्रतिनिधि सहभागी भएका छन् ।  


प्रतिक्रिया