संक्रमणकालिन न्यायमा पीडितलाई विश्वास लिनुपर्छः मानवअधिकार आयोग

जेष्ठ ८, २०८२ | काठमाडौं ।
राष्ट्रिय मानवअधिकार आयोगले संक्रमणकालीन न्याय प्रक्रियामा द्वन्द्वपीडितलाई विश्वासमा लिएर काम गर्न आग्रह गरेको छ । पीडितको स्वीकार्यता, विश्वसनीयता र सहयोगबाट मात्र सङ्क्रमणकालीन न्याय टुङ्गोमा पुग्न सक्ने आयोगको भनाइ छ । संक्रमणकालीन न्यायसँग सम्वन्धित दुई आयोगका पदाधिकारी नियुक्तिलाई लिएर द्वन्द्व पीडितले गम्भीर असहमति जनाएका बेला आयोगले सो विषयमा आफ्नो धारणा राखेको हो ।
आयोगका प्रवक्ता डा. टिकाराम पोखरेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ–“द्वन्द्वपीडितले आयोग गठन प्रक्रियाप्रति गरेको असहमतिप्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको छ, द्वन्द्वपीडितलाई न्याय सुनिश्चित हुने विश्वास दिलाउनु आवश्यक छ ।”
सङ्क्रमणकालीन न्याय टुङ्ग्याउन विगतमा गरिएका प्रयासको असफलताबाट पाठ सिक्दै सबै पक्ष गम्भीर हुनुपर्ने आयोगले जनाएको छ । सङ्क्रमणकालीन न्याय पीडितको सन्तुष्टिमा केन्द्रीत हुनुपर्नेमा आयोग दृढ रहेको विज्ञप्तिमा उल्लेख छ ।