पिएम कप एनभिए भलिबल लिगः महिलातर्फ एपीएफ र एभरेष्ट क्लबको विजयी सुरुवात

जेष्ठ ८, २०८२ | काठमाडौं
पोखरामा आजबाट सुरु नवांै संस्करणको पिएम कप एनभिए भलिबल लिगको महिलातर्फ नेपाल एपीएफ क्लब र एभरेष्ट भलिबल क्लब तथा पुरुषतर्फ एपीएफ, गण्डकी प्रदेश र टिप टप हेल्प नेपालले विजयी सुरुवात गरेका छन् ।
पोखरा रंगशालास्थित कभर्ड हलमा भएको खेलमा कर्णाली प्रदेशलाई ३–० को सोझो सेटमा हराउँदै एपीएफ विजयी भयो । एपीएफले कर्णालीमाथि २५–१०, २५–१० र २५–१५ को सेटमा जित निकालेको हो । महिलातर्फको अर्को खेलमा एभरेष्टले त्रिभुवन आर्मी क्लबलाई ३–१ ले हराएको छ । पहिलो सेट २२–२५ ले गुमाएको एभरेष्टले त्यसपछि लगातार २५–१९, २५–१७ र २५–१३ ले सेट आफ्नो पक्षमा पारेको हो ।
पुरुषतर्फ एपीएफले सुदूरपश्चिम प्रदेशलाई ३–० को सोझो सेटमा हरायो । एपीएफले सुदूरपश्चिममाथि २५–१९, २५–१६ र २५–१६ को सेटमा जित निकाल्यो । अर्को खेलमा गण्डकीले कोशी प्रदेशलाई ३–१ को सेटमा हरायो । गण्डकीले पहिलो सेट २५–१५ ले जितेको खेलको दोस्रो सेट कोशीले २५–२१ ले आफ्नो पक्षमा पार्यो । त्यसपछिका दुई सेट गण्डकीले २५–२२ र २५–२० ले जितेको हो । पुरुषतर्फ कै अर्को खेलमा टिप टप हेल्प नेपालले त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा हरायो ।
आर्मीमाथि टिप टपले ३०–२८, २५–२१ र २५–२० को सेटको जित निकालेको हो । नेपाल भलिबल संघको आयोजनामा एक साता चल्ने प्रतियोगितामा महिलातर्फ ६ र पुरुषतर्फ ८ टोलीको सहभागिता छ । सबैले एकअर्कासँग खेलेपछि अंक तालिकाको शीर्ष ४ मा रहने टोलीले सेमिफाइनल खेल्ने छन् । दुवैतर्फको विजेताले ८ लाख, दोस्रो टोलीले ४ लाख र तेस्रो टोलीले २ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।