एक हप्तापछि तिलगाउँका हिमपहिरो विस्थापितलाई सरकारको राहत सामग्री

जेष्ठ ८, २०८२ | काठमाडौं

हुम्लाको नाम्खा गाउँपालिका–६ को तिलगाउँमा आएको हिमपहिरोले विस्थापित भएकालाई कर्णाली प्रदेश सरकारले राहत सामग्री पठाएको छ । हिमपहिरो गएको एक सातापछि प्रदेश सरकारले राहत सामग्री पठाएको हो । गत जेठ १ गते राति दुई वटा ताल फुटेर हिमपहिरो जाँदा तिलगाउँबासी विस्थापित बनेका छन् ।

 वडाध्यक्ष पाल्जोर लामाका अनुसार २१ परिवारका ३३ जना त्रिपालमा बसिरहेका छन् । हिमपहिरोका कारण मानवीय क्षति नभए पनि भौतिक क्षति भने ठूलो मात्रामा भएको छ । २० क्विन्टल खाद्यान्न लगायत राहत सामग्री पठाइएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ ।

 जिल्ला प्रशासन कार्यालय हुम्लाको मागबमोजिम राहत सामग्री पठाइएको मन्त्रालयका प्रवक्ता उत्तम गौतमले जानकारी दिनुभयो । यसैबीच, तिलगाउँको बाढी पहिरोको कारण पत्ता लगाउन सरकारी टोली हुम्ला पुगेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सिनियर डिभिजनल इन्जिनिर सुशीलकुमार श्रेष्ठ नेतृत्वको तीन सदस्यीय टोली त्यसतर्फ गएको हो । 


प्रतिक्रिया