राजावादी दल र समूहको आन्दोलनमा प्रहरीको हस्तक्षेप!

जेष्ठ १८, २०८२
राजावादी दल र समूहले आन्दोलनको चौथो दिन आज प्रहरीले उनीहरुको प्रदर्शनमा हस्तक्षेप गरेको छ । काठमाडौंको नक्सालस्थित नारायणचौर क्षेत्रमा प्रदर्शन गरेका राजावादी दलका नेता कार्यकर्ताले निषेधित क्षेत्र तोड्न खोजेको भन्दै प्रहरीले लाठीचार्ज गरेको थियो । सो क्रममा राप्रपा नेपालका अध्यक्ष कमल थापालाई प्रहरीले नियन्त्रण लिएको छ । यसैबीच, राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले अध्यक्ष थापालाई तत्काल छाड्न माग गर्नुभएको छ । उहाँले शान्तिपूर्ण आन्दोलनलाई कमजोरीको रुपमा नलिन सरकारलाई चेतावनी दिनुभयो । लिङदेनले सरकारले शान्तिपूर्ण आन्दोलनलाई कमजोरी ठाने आगामी दिनमा ५० औं ठाउँबाट जुलुस निकाल्ने बताउनुभयो ।
हाल नक्साल–नारायणचौरमा राप्रपा, राप्रपा नेपालका नेता तथा कार्यकर्ता धर्ना दिइरहेका छन् । राप्रपा र राप्रपा नेपाललगायत राजसंस्था समर्थक विभिन्न दल र समूहले जेठ १५ देखि राजसंस्था पुर्नःस्थापनाको माग राखी प्रदर्शन गर्दै आएका हुन् । यसैबीच, राप्रपा सांसद दीपक सिंह प्रहरी परिसरबाटै पक्राउ पर्नुभएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहराले आन्दोलनकै क्रममा सिंहमाथि प्रहरीले निगरानी गरिराखेको बताउँदै प्रहरी परिसर आएका बेला पक्राउ गरिएको बताउनुभयो । राप्रपाका महामन्त्री शरदराज पाठकले भने राप्रपा नेपालका अध्यक्ष कमल थापालाई भेट्न प्रहरी परिसर पुगेका सांसद दीपक सिंहलाई बिनाकारण पक्राउ गरेर थुनामा राखिएको दाबी गर्नुभयो ।