भिजिट भिसामा जाने प्रक्रिया व्यवस्थित गरिएको अध्यागमन विभागको दाबी

भाद्र १, २०८२ | काठमाडौं

अध्यागमन विभागले गलत तरिकाबाट भिजिट भिसामा जाने प्रवृत्ति रोक्न आग्रह गरेको छ । अध्यागमन प्रक्रियामा अनियमितता तथा भ्रष्टाचारप्रति शून्य सहनशीलता नीति अपनाइएको भन्दै विभागले भिजिट भिसामा जाने प्रक्रियालाई व्यवस्थित गरिएको समेत बताएको छ । आज आयोजित पत्रकार सम्मेलनमा विभागका महानिर्देशक रामचन्द्र तिवारीले सही तरिकाबाट भिजिट भिसामा विदेश जानेलाई नरोकिने बताउनुभयो ।

विभागले यात्रु, वायुसेवा कम्पनी, विदेशस्थित कूटनीतिक नियोग, ट्राभल्स तथा मुद्रा सटही कारोबार गर्ने संस्थालाई आ–आफ्नो जिम्मेवारी निर्वाह गर्न समेत आग्रह गरेको छ । फर्जी वा नक्कली कागजात प्रयोग गरी प्रस्थान गर्न खोज्ने यात्रुलाई प्रस्थान अनुमति नदिइने र नेपाल प्रहरीमार्फत कानूनी कारबाही गरिने विभागको भनाइ छ । महानिर्देशक तिवारीले नक्कली कागजात बनाएर विदेश नजान आग्रह गर्नुभयो ।

विभागले वैदेशीक यात्रामा जानुअघि वैध राहदानी, भिसा, दुईतर्फी हवाई टिकट, होटल बुकिङ वा आफन्तसँग बस्ने प्रमाण, डलर सटही र आवश्यक कागजात अनिवार्य रुपमा देखाउन समेत अनुरोध गरेको छ । भिजिट भिसाको नाममा सर्वसाधारण ठगीने गरेको गुनासो आइरहेका बेला विभागले विदेश यात्रालाई सहज बनाउने गृहकार्य सुरु गरेको हो ।   


प्रतिक्रिया