पल्सर स्पोट्र्स अवार्डको पिपल्स च्वाइसको मनोनयन सार्वजनिक

भाद्र १, २०८२ | काठमाडौं

यही भदौ २९ गते पोखरामा हुने पल्सर स्पोट्र्स अवार्डको पिपल्स च्वाइसको मनोनयन सार्वजनिक भएको छ । नेपाल खेलकुद पत्रकार मञ्चले सार्वजनिक गरेको मनोनयनमा तीन महिलासहित ५ खेलाडी परेका छन् ।

पिपल्स च्वाइसको मनोनयनमा परेका खेलाडीमा क्रिकेटकी पूजा महतो, फुटबलकी रेखा पौडेल, टेबलटेनिसकी इभाना थापा तथा उसु खेलाडी विजय सिन्जाली र भलिबल खेलाडी हिमाल सुनारी रहेका छन् । 

अवार्डको भोटिङका लागि आजै मञ्चले खल्ती बाई आई.एम.ई.सँग सम्झैता पनि गरेको छ । मञ्चका अध्यक्ष निरन्जन अधिकारी र खल्ती बाई आई.एम.ई.का चिफ कमर्सियल अफिसर आशिष गौतमले सम्झौता पत्रमा हस्ताक्षर गरे । 

विजेताले पल्सर मोटरसाइकल पुरस्कार प्राप्त गर्नेछन । यस संस्करणमा कुल १० विधामा अवार्ड वितरण गरिनेछ ।

जसमा वर्ष खेलाडी पुरुष र महिला, युवा वर्ष खेलाडी, प्रशिक्षक, पिपल्स च्वाइस, पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट, टिम अफ द इयर र एसियन स्पोट्र्स जर्नालिस्ट अवार्ड समावेश छन् । 

पिपल्स च्वाइसबाहेक अन्य विधाका विजेता तथा सम्मानित व्यक्तिलाई जनही १ लाख रुपैयाँ प्रदान गरिनेछ । 


प्रतिक्रिया