सिद्धबाबालाई ३ लाख धरौटीमा छोड्न अदालतको आदेश

पुस १४, २०७६ | सुनसरी

महिला अनुयायी बलात्कार गरेको अभियोगमा पक्राउ परेका ‘सिद्धबाबा’ भनिने ४५ वर्षीय कृष्णबहादुर गिरीलाई सुनसरी जिल्ला अदालतले ३ लाख रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको छ । जिल्ला अदालतको आदेशविरुद्ध सरकारी वकिलको कार्यालयले उच्च अदालत जाने बताएको छ ।

न्यायाधीश राधाकृष्ण उप्रेतीको इजलासले धरौटीमा छाड्न आदेश दिएलगत्तै गिरी आजै धरौटी रकम बुझाएर छुटेका छन् । उनलाई आफ्नै अनुयायी महिलालाई बलात्कार गरेको अभियोगमा गत मंसिर १६ गते पक्राउ गरिएको थियो । तर, उनले आफूमाथि लागेको आरोप झुट भएको दाबी गर्दै आएका थिए ।

सुनसरीको बराहक्षेत्र चतरास्थित रामानन्दाचार्य सेवापीठका संरक्षक गिरीविरुद्ध कार्तिक ४ गते बलात्कारको आरोप लागेको थियो । पीडित युवतीले गत मंसिर १६ गते मुद्दा दर्ता गरेपछि बिरामी भएको बहानामा विराटनगरस्थित विराट नर्सिङ होम भर्ना भएका उनी एक महिनासम्म सोही अस्पताल बसेका थिए । 

अस्पतालबाटै पक्राउ परेपनि उनलाई प्रहरीले म्याद थप गराउँदै सोही अस्पताल लाने गरेको थियो । प्रहरीले झण्डै एक महिना लगाएर घटनाको अनुसन्धान गरेर बलात्कार भएको प्रमाण सहित १० वर्ष जेलसजायको माग गर्दै मिसिल बुझाएको थियो ।

अदालतका आदेशपछि न्यायाधीवक्ता गोकुल निरौलाले जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालतमा मुद्दा दर्ता गर्ने तयारी भएको जानकारी दिनुभयो । 

गिरीले पीडित महिलासँग माफ माग्दै मुद्दा फिर्ता लिनका लागि याचना गरेको फोनवार्ता ७६ दशमलव ९ प्रतिशत म्याच भएको, महिलाले किटानी जाहेरी दिएको, गिरीका दुई सेवकले फोन गराएको बयान दिएको, कात्तिक ४ गते पीडित महिला आश्रममा आएको, बलात्कार भएको स्थानको मुचुल्का उठाएको, म्यासेजहरु लेखेको लगायत प्रमाणहरु आफूहरुसँग सुरक्षित रहेको निरौलाको भनाई छ ।  


प्रतिक्रिया