रोल्पामा एकैसाथ ६ वटा पुल निर्माण हुने

माघ १३, २०७७ | रोल्पा

लुम्बिनी प्रदेश सरकारको लगानीमा एकैसाथ रोल्पाका ६ स्थानमा पुल निर्माण गरिने भएको छ । प्रदेश सरकारले नियमित यातायातका साधन सञ्चालन गर्न नदी र खोलामा चालू आर्थिक वर्षदेखि नै पुल निर्माण गर्न थालेको हो । रोल्पास्थित सडक पूर्वाधार विकास कार्यालयका अनुसार पूर्वी र पश्चिमी गरी दुबै क्षेत्रमा पुल निर्माण गर्ने योजना अघि सारिएको हो । 

प्रदेश सरकारले रोल्पामा स्थानीय तह पहुँच मार्ग अन्तर्गत विभिन्न सडक पनि निर्माण गर्दै आएको छ । यसअघि निर्माण गरिएका सडकको स्तरोन्नति एवं पुल समेत निर्माण गर्ने योजना ल्याएर समातुपातिक विकासको अवधारणा अघि सारिएको कार्यालय प्रमुख इन्जिनीयर नवीन श्रेष्ठले बताउनुभयो । कार्यालयका अनुसार ६ करोड ४२ लाख रुपैयाँको लगानीमा जिल्लाको लुंग्री खोलामा ६० मिटर लामो सडक पुल निर्माण गर्न ठेकेदार कम्पनीसँग सम्झौता समेत भईसकेको छ । 

चालू आर्थिक वर्षमा २ करोड रुपैयाँ बजेट विनियोजन भईसकेको छ । सदरमुकाम लिबाङलाई ह्वामा गाउँ जोड्ने धाङ्सी खोला पुलको निर्माण कार्य सुरु भईसकेको छ । करीब ७० मिटर लामो सो पुल निर्माण गर्न प्रदेश सरकारले ५ करोड ६१ लाख रुपैयाँ बजेट छुट्याएको छ । सुनिलस्मृति गाउँपालिका अन्तर्गत घोडागाउँ पुग्न २५ मिटर लामो सडक पुल निर्माण गर्न २ करोड ५९ लाख रुपैयाँ छुट्याइएको छ । सो पुलको निर्माण कार्य सुरु भईसकेको छ । 

पुलको उद्घाटन लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले तीन साताअघि गर्नु भएको थियो । परिवर्तन गाउँपालिकाको मिरुलस्थित जिवा खोलामा पनि १५ मिटर लामो सडक पुल निर्माण सुरु भएको छ । सो पुल बनाउन २ करोड ५० लाख रुपैयाँ बजेट प्राप्त भएको सडक पूर्वाधार विकास कार्यालय रोल्पाले जनाएको छ । 

यस्तै, थबाङ गाउँपालिकाको उवा खोला सडक पुल र परिवर्तन गाउँपालिकाको पुत्लाचौरमा माडीचौर खोला पुल निर्माण गर्न टेन्डर प्रक्रिया गरिएको छ । उवा खोला पुल ३५ मिटर लामो हो भने माडीचौर खोला पुल पनि ३५ मिटर लामो हो । 

वर्षाको समयमा बाहेक अन्य समयमा यातायातका ठूला र साना साधन नियमित संचालन भइरहेकाले स्थानीयको माग अनुसार सडक पुल बनाउने योजना ल्याइएको कार्यालय प्रमुख श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार बहुवर्षीय योजना अन्तर्गत ती सबै पुल केही वर्षमा निर्माण गरिनेछन् । अघिल्ला वर्षका योजना समेत निर्माणाधिन छन् ।

स्थानीय तह पहुँच मार्ग निर्माण धमाधम

प्रदेश सरकारको प्राथमिकता अनुसार जिल्लाका सबै स्थानीय तहमा पुग्न धमाधम पहुँच मार्ग पनि निर्माण गर्ने योजना सुरु भएका छन् । एक तहबाट अर्को तहमा सडक मार्गले सहज बनाउने सरकारको नीति अनुसार पहुँच मार्ग बनाउने योजना ल्याइएको प्रदेश सांसद दीपेन्द्र कुमार पुनले बताउनुभयो । 

सरकारले लुंग्री गाउँपालिका पहुँच मार्ग योजनालाई २ करोड ५३ लाख, त्रिवेणी गाउँपालिकाका दुई वटा पहुँच मार्गलाई क्रमश: २ करोड ७४ लाख र १३ लाख ११ हजार, गंगादेव गाउँपालिका पहुँच मार्गको दुई वटा ठेक्काका लागि १ करोड ६१ लाख र ६९ लाख, रुन्टीगढी गाउँपालिका अन्तर्गत पर्यटन क्षेत्र पहुँच मार्गलाई ५० लाख रुपैयाँ छुट्याएको छ । 

यसैगरी किमिचौर–घोडागाउँ–माडीचौर–घर्तीगाउ–जिनाबाङ, भित्ताबाङ–सुखाओडार–सान्डाँडाँ पाखापानी, थबाङ–लुकुम–मध्यपहाडी लोकमार्ग, माडीचौर–जंकोट–कुरेली–रुकुम सडकलाई बजेट छुट्याइएको छ । 

यस्तै, चप्का–भनभने, सहिदमार्ग–तालाबाङ–गुँरासे–रातामाटा, लिबाङ–सल्लीबोट–उघा–धौलाबाङ, सेरम–घुसबा–उवा, गंगादेव–लोतचौर–बाफुखोला–बाघचौर सल्यान सडकलाई पनि बजेट छुट्याइएको छ । छेर्लोबाङ–कुरेली–चुनबाङ, पाछाबाङ कुंग्रीखोला–चुनबाङतिला–मुसिकोट, माडीचौर–घर्तीगाउ, सुलिचौर–भुजुङखोला–प्युठान सडकलाई समेत बजेट छुट्याइएको छ ।


प्रतिक्रिया