अब बुटवलमा पनि फुडमान्डु
माघ १२, २०८१ | तिलोत्तमा
फुड डेलिभरी कम्पनी फुडमान्डुले बुटवलमा आफ्नो सेवा विस्तार गरेको छ । यसअघि काठमाडौं, ललितपुर, भक्तपुर, कीर्तिपुर, पोखरा र चितवनमा सेवा दिइरहेको फुडमान्डुले बिहीबारदेखि बुटवलबाट सेवा थालेको हो ।
कम्पनीका संस्थापक तथा प्रबन्ध निर्देशक मनोहर अधिकारीले देशभर नै आफ्नो एप विस्तार गर्ने योजना रहेको बताउनुभयो । ‘हामी फुडमान्डुलाई फुड डेलिभरीको अग्रणी कम्पनीको रुपमा नेपालका मुख्य शहरमा क्रमशः फैलाउने योजनामा छौँ,’ उहाँले भन्नुभयो, ‘खानेकुराको हब बुटवलमा बिस्तार हुन पाउँदा खुसी छौं ।’
बुटवलमा रहेका प्रख्यात रेस्टुरेन्टका खानेकुरा ग्राहकले घर, अफिस वा आफूले चाहेको ठाउँमा नै अनलाइन मार्फत अर्डर गरी खान सक्ने अधिकारीले बताउनुभयो । स्थापना भएको १५ वर्ष पुगेको नेपालको पहिलो अनलाइन फुड डेलिभरी प्ल्याटफर्म फुडमान्डुले काठमाडौं, पोखरा र चितवनमा पाएको सफलता अब बुटवलमा पनि पाउनेमा ढुक्क रहेको अधिकारीको भनाइ छ ।
बुटवलवासीलाई डेलिभरी सेवा दिन फुडमान्डुले पहिलो चरणमा स्थानीय रेस्टुरेन्ट तथा होटलसँग सहकार्य गरेको छ । कम्पनीका अनुसार फुडमान्डुले आफैँ खाना बनाउँदैन, रेस्टुरेन्टमा पाइने खानालाई उपभोक्ताको घरदैलोसम्म ल्याइदिने काम गर्दछ ।
ग्राहकले मोबाईल एप, वेबसाइट र फोन मार्फत् खाना अर्डर गर्न सक्छन्, जसलाई फुडमान्डुमा आबद्ध रेस्टुरेन्टले तयार गर्छन् । फुडमान्डुसँग अहिले १ हजार भन्दा बढी रेस्टुरेन्ट आबद्ध छन् ।
बुटवलमा सेवा विस्तार गर्ने क्रममा केही समय हरेक अर्डरमा ’फुडसफारी’ कोड प्रयोग गर्दा ३० प्रतिशत (५०० रुपैयाँसम्म) छुट पाउने घोषणा कम्पनीले गरेको जनाएको छ ।