सिन्धुपाल्चोका १०६ किशोरीले लिए पर्वतारोहण सम्बन्धी तालिम

फाल्गुन १९, २०७९ | सिन्धुपाल्चोक

‘जाऔं जाऔं जुगल हिमाल चढ्न जाऔं’ जुगल हिमालको बेसक्याम्पमा पुग्दा गायक चेतन सापकोटाको यही गीत एकै स्वरमा गाउँदै थिए एक सय ६ जना किशोरी, केही पर्वतारोही र प्रशिक्षक । 

सिन्धुपाल्चोकको जुगल गाउँपालिका–३ स्थित हिउँले झनै मनमोहक बनेको जुगल हिमालकै फेदीमा पुग्दा मेलम्ची नगरपालिका बाहुनेपाटीकी २३ वर्षीया कृतिना माझी निकै खुशी भइन् । ‘ओहो यो त स्वर्गको टुक्रा रहेछ’, उनले नाच्दै भनिन् । 

उनीझै पाँचपोखरी थाङपालकी १७ वर्षीया मनमाया तामाङ, जुगल बराम्चीकी १८ वर्षीया दिपा लामिछाने, चौतारा साँगाचोकगढी नगर चौताराकी ३३ वर्षकी शान्ति तामाङ उत्साहित भएर रमेका देखिन्थ्ये । जुगलको काखमा विभिन्न स्थानीय तहबाट पुगेका एक सय ६ किशोरीको एउटै उद्देश्य थियो ‘पर्वतारोहण सम्बन्धी स्थानीय ट्रेकिङ तालिम या मार्चपास’ ।

जुगल गाउँपालिकाको पर्यटन समितिका अध्यक्ष मिलन तामाङका अनुसार ती किशोरीहरुलाई विश्व समावेशी साहसी संस्था (जीआईए) को आयोजनामा जुगल गाउँपालिका, चौतारा साँगाचोकगढी र मेलम्ची नगरपालिकाको आर्थिक सहयोगमा तालिम दिइएको हो । 

यो दुई वर्षको प्याकेज हो, जसमध्ये चार जना शिक्षकद्वारा कम्प्युटर र अंग्रेजी भाषा सिकाईदैछ । यी किशोरीलाई जुगल गाउँपालिकाको तीन दिने यात्रामा जिल्लाभरको इतिहास, भूगोल, धर्म संस्कृति बारे जानकारी दिइएको छ । 

यस बाहेक ५ जना अन्तर्राष्ट्रिय पर्वतारोही प्रशिक्षकद्वारा पर्वतारोहीले पर्वतारोहण सम्बन्धी सम्पूर्ण तालिम अर्न्तगत ट्रेकिङ म्याप, प्राथामिक उपचार तालिम, म्याप नेभिगेशन सहित अन्य पर्वत चढ्न आरोहीले गर्नुपर्ने सामग्री र तयारी बारे प्रयोग गरेर सिकाइएको छ ।

यही फागुन १३ गते बिहान एक सय ६ जना किशोरी, ११ जना प्रशिक्षकको टोली जुगल–५ बराम्ची चनौटेस्थित रत्नराज्य माध्यमिक विद्यालयबाट जुगल हिमालका लागि हिँडेका थिए । त्यसदिन जुगलको क्याङसिङ बसेर उनीहरु जुगलको अन्तिम गाउँ दिपु, तेगा र तेम्बाथान हुँदै जुगल हिमालको ‘बेसक्याम्प’ नेपेमासाल अर्थात् देवताको स्वर्ग पुगेर पाँचौ दिनमा चनौटे आइपुग्दा उत्साहित भएर दंग परे । 

विश्व समावेशी सहासी संस्थाकी अध्यक्ष समेत रहेकी सगरमाथा आरोही माया गुरुङले ‘फिमेल लिडरसिप एकेडेमी ट्रेनिङ’ अर्न्तगत यस्ता अनेक तालिम दिइएको बताउनुभयो । ‘किशोरी पर्वतारोही उत्पादन हुन् भन्ने हाम्रो लक्ष्य हो,’ उहाँले भन्नुभयो, ‘त्यही अनुसार उहाँहरुलार्ई पर्वतारोही तालिम दिन जुगल हिमालकै फेदमा लगेका हौँ ।’

गुरुङका अनुसार संस्थाले जिल्लाको सदरमुकाम चौतारा, जुगलको चनौटे, पाँचपोखरी थाङपाल र मेलम्चीका दुई गरी ५ वटा विद्यालयमा महिला नेतृत्व विकासको तालिम दिइएको छ । बिहीबार जुगल गाउँपालिकाका अध्यक्ष रेशम स्याङ्बो, आरोही माया गुरुङसहित प्रशिक्षकले एक सय ६ किशोरीलाई चनौटेस्थित रत्नराज्य माध्यमिक विद्यालयमा तालिमको प्रमाणपत्र हस्तान्तरण गर्नुभयो । 


प्रतिक्रिया