तिलोत्तमामा सूचनाको हक सम्बन्धी अभिमुखीकरण कार्यक्रम आयोजना

जेष्ठ १४, २०८१ | तिलोत्तमा

रुपन्देहीको तिलोत्तमा नगरपालिकामा सूचनाको हक सम्बन्धी २ दिने अभिमुखीकरण कार्यक्रम सुरु भएको छ । आइतबारदेखि सुरु भएको कार्यक्रममा नगरभित्रका जनप्रतिनिधि, वडा सचिव, सामुदायिक विद्यालयका प्रतिनिधि साथै सरोकारवालाको सहभागिता रहेको छ । 

अभिमुखीकरण कार्यक्रमलाई आइतबार सम्बोधन गर्दै नगर प्रमुख रामकृष्ण खाँणले सूचनाको हक नागरिकको मौलिक हकमै पर्ने भएकाले यसको पारदर्शितामा नगरपालिका अडिग रहेको बताउनुभयो । 

नागरिक र स्थानीय तहबीचको समन्वय प्रभावकारी भए सुशासनयुक्त पालिका बनाउन सहज हुने उहाँले बताउनुभयो । सूचनाको हक सम्बन्धी कार्यक्रमले नागरिकलाई सूचना पाउने विधि र तरिका बारे जानकार गराउने र यसले सम्बन्धित निकायलाई जवाफदेही बनाउने खाँणको भनाई छ । 

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले कस्ता प्रकृतिका सूचना कुन माध्यमबाट पाउन सकिन्छ र सार्वजनिक निकायले दिने गरेका सूचनाको अवस्था बारे जान्न यस कार्यक्रमले सघाउने बताउनुभयो । 

उहाँले सार्वजनिक निकायले सूचना माग भएको बखत दिनुपर्ने र प्रकृयागत सूचना माग बारे मागकर्ता जानकार हुनुपर्ने बताउनुभयो । स्थानीय तहले आफ्ना आय व्यय, बोलपत्र लगायत सूचनालाई आधिकारिक वेबसाईटमा राखेरै जनतालाई सुसूचित गरिरहेको प्रमुख प्रशासकीय अधिकृत अर्यालले जानकारी दिनुभयो । 

नरपालिकाले सामाजिक विकास समितिका संयोजक रवि सेन्चुरीले सूचना समयसँगको माग भएकाले यो विश्वव्यापी महत्वपूर्ण विषय भएको बताउनुभयो । उहाँले सूचनाको हक सम्बन्धी ऐनले व्यवस्था गरेको नीति अनुसार लोकतन्त्रको संरक्षणकै लागि पनि सूचनाको हकको आवश्यकता औंल्याउनुभयो ।

कार्यक्रममा नगरपालिकाका सूचना अधिकारी माधव प्रसाद पोखरेलले सूचनाको हकमा सार्वजनिक निकायको दायित्व, सूचना माग्दा अपनाउनुपर्ने विधि, प्रकृया बारेको ज्ञान प्रदान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताउनुभयो । 

सूचनाको हकको मापदण्डले तय गरेको विभिन्न विषयमा सरोकारवाला जानकार भई सूचना दिंदा सही र स्पष्ट सूचना प्रवाह हुने भएकाले यस सम्बन्धी अध्ययन जरुरी रहेको उहाँको भनाई छ । तिलोत्तमा–१ स्थित एस आर होटलको सभाहलमा जारी कार्यक्रममा पत्रकार किरण कौशलले सहजीकरण गर्नु भएको थियो ।


प्रतिक्रिया