रोहिणीका ८५ जना जेहेनदार छात्रालाई साईकल वितरण

जेष्ठ १८, २०८१ | तिलोत्तमा

रुपन्देहीको रोहिणी गाउँपालिकाले विभिन्न विद्यालयमा कक्षा ९ मा अध्ययनरत छात्रालाई साईकल वितरण गरेको छ । ‘गाउँपालिका अध्यक्षसँंग बालिका कार्यक्रम’ अन्तर्गत पालिकाभित्रका ८५ जना जेहेनदार तथा आर्थिक रुपमा विपन्न छात्रालाई साईकल प्रदान गरिएको हो ।

साईकल प्रदान गर्दै रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले पालिकाको शैक्षिक गुणस्तर सुधारका निम्ति प्रयासरत रहेको बताउनुभयो ।

सडक, भवन बनाएर मात्र विकास नहुने भएकोले शिक्षा, स्वास्थ्य लगायत क्षेत्रमा नवीनतम कामलाई गाउँपालिकाले प्राथमिकता दिएको उहाँले बताउनुभयो ।

छात्राको अध्ययन शैली मिहिनेती खालको हुने भएकाले उनीहरुलाई विद्यालय आइराख्ने र पढ्ने वातावरण सहज बनाउन यस कार्यक्रमले सहयोग गरिरहेको अध्यक्ष यादवको भनाई छ ।

विद्यालय र बसाई टाढा हुँदा सहजै विद्यालय आउन नपाउने छात्राले साईकल पाएपछि आवतजावतमा सहज हुने उहाँले बताउनुभयो ।

गाउँपालिकाले आधारभूत स्तरीय परीक्षा कक्षा ८ मा सर्वोत्कृष्ट अंक ल्याउने विद्यार्थी र उनीहरुलाई मिहिनेत गरी पढाउने शिक्षकलाई समेत विभिन्न पुरस्कार सहित सम्मान गरेको छ ।


प्रतिक्रिया