मुलुकका विभिन्न स्थानमा चट्याङ लागेर ५ जनाको मृत्यु

असार १२, २०८१ | काठमाडौं

मुलुकका विभिन्न स्थानमा चट्याङ लागेर ५ जनाको मृत्यु भएको छ । चट्याङ लागेर कपिलवस्तु र कैलालीमा दुई÷दुई तथा लमजुङमा एक जनाको मृत्यु भएको हो ।

चट्याङ लागेर कपिलवस्तुको बुद्धभूमि नगरपालिका–१०, धनकौलीका १७ वर्षीय राजु ठाकुर र यशोधरा गाउँपालिका–६ का २२ वर्षीय महेश कलवारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक महेशविक्रम शाहीले बताउनुभयो ।

त्यस्तै, चट्याङ लागेर कैलालीको धनगढी उपमहानगरपालिका–१८ एफ गाउँका २७ वर्षीय शालिम चौधरी र जोशीपुर गाउँपालिका–३ भित्रिया गाउँका ३१ वर्षीय जयराम डगौराको मृत्युु भएको प्रहरीले जनाएको छ ।

चट्याङ लागेका अन्य ५ जनाको भने स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । यस्तै, चट्याङ लागेर लमजुङको तल्लो चरागाउँका ६५ वर्षीय दानबहादुर भुजेलको मृत्यु भएको प्रहरीलाई उद्धृत गर्दै हाम्रा सहकर्मीले जनाएका छन् ।

चट्याङबाट घाइते भएका राइनास नगरपालिकाका ३८ वर्षीय रामचन्द्र अधिकारीको सुन्दर बजारस्थित अस्पतालमा उपचार भइहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।   


प्रतिक्रिया