कृषि तथा वन विज्ञान विश्वविद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न नेवि संघको माग

रेडियो कान्तिपुर संवाददाता

असार १५, २०८१ | चितवन

चितवनको रामपुरस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालयको शैक्षिक गुणस्तर सुधारको माग गर्दै नेपाल विद्यार्थी संघ (नेविसंघ) ले उपकुलपतिको ध्यानाकर्षण गराएको छ । 

नेवि संघ कृषि तथा वन विज्ञान विश्वविद्यालयको केन्द्रीय इकाईले संकायको शैक्षिक र भौतिक गुणस्तर सुधार गरी आकर्षण बढाउने उद्देश्यका साथ विभिन्न ८ बुँदे माग राख्दै उपकुलपतिको ध्यानाकर्षण गराएको हो । 

नेविसंघले विद्यार्थी, शिक्षक तथा कर्मचारीका लागि विश्वविद्यालयले भरतपुर महानगरभित्रको अस्पतालसँग सम्झौता गरी स्वास्थ्य बीमा व्यवस्था गर्नुपर्ने, एम्बुलेन्सको व्यवस्था, भेटेरिनरी शिक्षण अस्पतालको स्तरोन्नति गरी २४ सै घण्टा खुला गरिनुपर्ने, आफ्नै फार्मेसीको व्यवस्था मिलाउनुपर्ने माग गरेको छ । 

यस्तै, विश्वविद्यालयका सम्पतिको दुरुयोग रोक्नुपर्ने, विश्वविद्यालयमा रहेको पोखरी, बागवानी र कृषि विभाग व्यवस्थित गरी उन्नत जानका बीउबिजन उत्पादन गरेर किसानलाई सक्षम बनाउनुपर्ने लगायत माग नेविसंघले अघि सारेको छ । 

देशको अर्थतन्त्रको मूल आधार कृषिका लागि जनशक्ति तयार गर्ने विश्वविद्यालयको पछिल्लो समयमा घट्दै गईरहेको शैक्षिक र भौतिक स्थितिप्रति आफूहरुको ध्यानाकर्षण भएको नेविसंघ कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरका सभापति निकेश शर्माले बताउनुभयो । 



प्रतिक्रिया