एकीकृत समाजवादीको महाधिवेशन भोलिबाट हुँदै

असार १५, २०८१ | काठमाडौं

नेकपा एकीकृत समाजवादीको महाधिवेशन भोलिबाट काठमाडौंमा सुरु हुँदैछ । महाधिवेशनको तयारी पूरा भएको जनाउँदै एकीकृत समाजवादीले महाधिवेशनमा केन्द्रीय सदस्य र पदाधिकारीका लागि योग्यता तय भएको जनाएको छ ।

महासचिव घनश्याम भुषालका अनुसार एक कार्यकाल पूरा गरेका केन्द्रीय सदस्यहरुले पदाधिकारीमा प्रतिस्पर्धा गर्न पाउने व्यवस्था गरिएको छ । त्यस्तै, अध्यक्ष पदमा प्रतिस्पर्धा गर्न पार्टीको स्थायी कमिटीको सदस्य हुनका लागि चाहिने योग्यता पुगेको हुनुपर्ने तथा उपाध्यक्ष, उपमहासचिव र सचिव बन्नका लागि पोलिटब्युरोको सदस्य बन्न योग्यता पुगेको हुनुपर्ने मापदण्ड बनाइएको छ ।

केन्द्रीय कमिटी, केन्द्रीय अनुशासन कमिटी, केन्द्रीय लेखा परिक्षण कमिटीर केन्द्रीय निर्वाचन कमिटीको सदस्य बन्नका लागि केन्द्रीय कमिटी वा केन्द्रीय निकायको सदस्य भई काम गरेको वा संगठित पार्टी सदस्य भई कम्तिमा १० वर्ष काम गरेको हुनुपर्ने लगायत योग्यता तोकिएको सो पार्टीले जनाएको छ ।

महासचिव भुषालका अनुसार, महिला, दलित, सीमान्तकृत जनजाति र अपाङ्गता भएकाहरूको हकमा भने संगठित सदस्य भई सात वर्ष काम गरेको र एक कार्यकाल जिल्ला कमिटीमा रही काम गरेको व्यक्ति उम्मेदवार वन्न योग्य हुने उल्लेख छ ।

यसैबीच, एकीकृत समाजवादीले महाधिवेशन उद्घाटन समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहालसहित सबै दलका शीर्ष नेताहरुलाई आमन्त्रण गरिएको जनाएको छ । महाधिवेशन काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा हुनेछ ।   


प्रतिक्रिया